भारतले जारी गरेको नक्सा मान्य हुँदैन : परराष्ट्र मन्त्रालय

भारतले जारी गरेको नक्सा मान्य हुँदैन : परराष्ट्र मन्त्रालय

काठमाडौं, २१ कार्तिक । नेपाल सरकारले कालापानी नेपालकै भूभाग भएको स्पष्ट गर्दै भारतले सार्वजनिक गरेको एकपक्षीय नक्सा मान्ने नहुने बताएको छ ।

भारतले जारी गरेको नयाँ नक्साबारे औपचारिक धारणा सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले भारतीय नक्साका विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीच टुंगिन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ ।’

परराष्ट्रले दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज तथ्य प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्नेमा नेपाल दृढ रहेको उल्लेख गरेको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक र कालापानी पनि समावेश गरेपछि नेपालमा सर्वत्र विरोध भएको छ ।