कांग्रेसले टुंगो लगायो उपनिर्वाचनका सबै उम्मेदवारहरु

कांग्रेसले टुंगो लगायो उपनिर्वाचनका सबै उम्मेदवारहरु

काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ।आज बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन सिटका लागि हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारको नाम टुंगो लगाएको हो।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, प्रदेशसभाका लागि हुने उपनिर्वाचनका लागि बागलुङ क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशमा जित शेरचन, दाङ क्षेत्र नम्बर ३ को ‘ख’ मा केशव शर्मा आचार्य र भक्तपुर क्षेत्र नम्बर १ को ‘क’ मा कृष्ण भँडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपचुनावका लागि उम्मेदवारी मनोनयन भोलि (कात्तिक २१) गते हुँदैछ।