ओली-प्रचण्डको मात्रै व्यवस्थापनले पार्टी एकता सम्भव छैन : नेपाल

ओली-प्रचण्डको मात्रै व्यवस्थापनले पार्टी एकता सम्भव छैन : नेपाल

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताउनुभएको छ ।

उहाँले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर पार्टी एकता गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– “दुई नेताको व्यवस्थापनले मात्रै हुँदैन । पहिला पूर्व प्रधानमन्त्री भइसकेका, पार्टी सञ्चालनको अनुभव लिइसकेका, स्थायी कमिटीमा रहेका र तल्लोस्तरमा रहेका सबैलाई मिलाउनुपर्छ ।”

पार्टी एकतामा देखिएका बाधालाई छिटो भन्दा छिटो पन्छाएर पार्टी एकता गर्नु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“पार्टी एकता कहिले गर्ने, पार्टीले कस्तो विचार अवलम्बन गर्ने, दिइएको जिम्मेवारी पूरा नगरे परिवर्तन गर्ने, समयमा काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेर पार्टी एकता टुंगाउनु जरुरी छ ।”