

काठमाडौं, कात्तिक १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात प्रदेश प्रमुख नियुक्ति गर्नुभएकाे छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार सात प्रदेशका प्रमुख नियुक्त गर्नुभएकाे हाे । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले प्रदेश १ को प्रमुखमा सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशको प्रमुखमा शर्मिला त्रिपाठीलाई नियुक्ति गर्नुभएकाे हाे ।
मन्त्रिपरिषदले नियुक्तिका लागि सिफारिस गरेपछि राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सात प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष नाम सिफारिस गरेको थियो।
