एमसीसीद्वारा नेपाललाई २०२ रनको चुनौती

एमसीसीद्वारा नेपाललाई २०२ रनको चुनौती

काठमाडौँ, १८ कात्तिक । इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु २०२ रनको लक्ष्य प्रस्ततु गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गर्दै एमसीसीले ३९ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै २०१ रनको योगफल बनायो । एमसीसीका लागि विल रोड्स र बिली गोडलम्यानले अर्धशतक बनाए । रोड्सले ५४ रन तथा गोडलम्यानले ५२ रन बनाए । यस्तै विल भान्डरस्परले ३६, कोलुम ज्याकनले ११, एलेक्स थमसनले ११ तथा टम वेस्लेले १० रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि पवन शर्राफ र ललित राजवंशीले चार÷ चार विकेट लिए । अविनाश बोहरा र करण केसीले एक/एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपाल भ्रमणमा रहेको एमसीसीको यो दोस्रो खेल हो । आइतबार सम्पन्न पहिलो खेलमा एमसीसीले उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीलाई ३८ रनले पराजित गरेको थियो ।