

काठमाडौँ, १५ कात्तिक । बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको अदालती बयान सुरु भएको छ ।
उनको बयान सकिए सम्भवत: आजै थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहस सकिएपछि अदालतले महरालाई थुनामा पठाउने, धरौटीमा रिहा गर्ने, तारेखमा रिहा गर्ने वा साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने भनेर आदेश जारी गर्न सक्नेछ ।
प्रहरीको झन्डै १ महिनाको अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरुद्ध जबरजस्ती करणी उद्योग र ओहोदाको दुरुपयोग गरी कसुरमा अधिकतम ७ वर्ष ६ महिना कैद सजाय माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।
असोज १२ गते सचिवालयकै कर्मचारी रोशनी शाहीले जबरजस्ती करणी प्रयास गरेको जाहेरी प्रहरीमा दिएकी थिइन् । घटना सार्वजनिकलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।