अब मंसिर १३ मा ‘सरौतो’

अब मंसिर १३ मा ‘सरौतो’

चलचित्र ‘सरौतो’ कात्तिक २९ गते पनि प्रदर्शनमा नआउने भएको छ । यसअघि यो चलचित्र कात्तिक २२ मा आउने तयारीमा थियो । तर, सोही मितिमा ‘घामड शेरे’ आएपछि ‘सरौतो’ कात्तिक २९ मा पुगेको थियो । यो मितिमा यसअघि नै ‘माछा माछा’ र ‘मिस्टर नेपाली’ प्रदर्शनका लागि तयारी अवस्थामा रहेका कारण यो चलचित्र अब मंसिर १३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

दुई चलचित्रभन्दा भिड्दा दर्शक र हल बाँडिने हुँदा ‘सरौतो’ को निर्माण टिमले पुनः प्रदर्शन मिति फेरबदल गरेको हो । चलचित्रका निर्देशक हरि हुमागाईंले एकै मितिमा धेरै फिल्म प्रदर्शन हुन लागेका कारण चलचित्रलाई दुई हप्ता पछाडि प्रदर्शन गर्न लागेको जानकारी दिए । यो चलचित्रमा अभिनेत्री सुमी मोक्तानलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । ट्रेलरमा उनको एक्सन अवतारलाई धेरैले रुचाएका छन् ।

चलचित्रमा सुमीका अलावा विजय लामा, सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमलगायतको पनि अभिनय छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा राघव कृष्ण गौतमको लेखन छ । निर्देशक हुमागाईंले यो चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको चलचित्रमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ । ‘सरौतो’ आफ्नो ड्रिम प्रोजेक्ट बताउने अभिनेत्री सुमी फिल्मका लागि एक्सन सिक्न निकै मेहनत गरेको बताउँछन् । चलचित्रका लागि उनले गरेको मेहनत ट्रेलरमा पनि देख्न सकिन्छ ।