मरिश्कालाई ‘हातमा लाग्यो शून्य’ !

मरिश्कालाई ‘हातमा लाग्यो शून्य’ !

काठमाण्डौ। चलचित्र ‘के म तिम्रो होइन र ?’ बाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री मरिश्का पोखरेलले फिल्ममा प्रवेश गरेको छोटो समयमा थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छन् । तर, त्यसको उपलब्धि भने देखिएको छैन । हालसम्म उनका कुनै पनि फिल्म बक्सअफिसमा हिट भएका छैनन् । डेब्यु फिल्मदेखि उनको फ्लप यात्रा निरन्तर अगाडि बढिरहेको छ ।

दोस्रो फिल्म ‘चपली हाईट २’ ले असफलतालाई निरन्तरता दियो । तेस्रो फिल्म ‘लम्फू’ बाट पनि उनले कमर्शियल सफलता पाईनन् । गएको वर्ष प्रदर्शनमा आएका तीन चलचित्रहरु ‘मिस्टर भर्जिन’, ‘साली कस्को भेनाको’ र ‘पण्डित बाजेको लौरी’ बाट उनको ठूलो आश थियो । तर, त्यो पनि निराशामा परिणत भयो । तीनै चलचित्र बक्स अफिसमा डुबे ।

चलचित्रमा आउनु उत्ति साह्रो गाह्रो नहोला तर आफूलाई टिकाइराख्न सजिलो छैन । मरिश्काको हकमा पनि यही भएको छ । उनलाई चलचित्रमा प्रवेश गर्नभन्दा अहिले टिक्न गाह्रो भइरहेको छ । संख्या बढाउन उद्दत रहेको आरोप समेत खेपिरहेकी उनले अब करिअरका लागि फिल्म छनोटमा सजग हुनुपर्ने अवस्था आएको छ ।

फिल्ममा डिमान्ड शून्य भए पनि म्यूजिक भिडियोमा आजभोली उनको व्यस्तता बढेको छ । ‘सालको पात’ बोलको गीतले लोकप्रियता हासिल गरेपछि उनलाई भिडियोबाट राम्रो अफर आइरहेको छ । अब ग्यापमा चलचित्र गर्ने निर्णयमा पुगेकी उनको हातमा अहिले कुनै चलचित्र नभएको चर्चा छ ।