एनआरएनएले पत्रकार महासंघमा इ-लाईब्रेरी स्थापना गर्ने

एनआरएनएले पत्रकार महासंघमा इ-लाईब्रेरी स्थापना गर्ने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनएं) को वर्तमान कार्यसमिति अन्तरगत बनेको मिडिया तथा प्रकाशन समितिको पहिलो बैठक सम्पन्न भएको छ । शनिवार विद्युतीय माध्यम कन्फ्रेन्स कलमार्फत् भएको बैठकमा करिब १ दर्जन भन्दा बढी देशबाट सहभागिता थियो । संघका प्रवक्ता तथा समितिका संयोजक भूषण घिमिरेको सभापतित्वमा सम्पन्न बैठकले गैरआवासीय नेपाली संघको अभियान र नेपाली सञ्चारसँगको सम्बन्धका विभिन्न आयाममा छलफल भएको समितिका संयोजक भूषण घिमिरेद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तको विषेश उपस्थिति थियो । उपाध्यक्ष पन्तले गैरआवासीय नेपाली संघको अभियानलाई सफल पार्न नेपाली मिडियाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले आगामी दिनमा सञ्चारकर्मीहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाउँदै बैठकको सफलताको लागि शुभकामना दिए ।
बैठकले नेपाल पत्रकार महासंघको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा इलाईब्रेरी स्थापना गर्न तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । सो प्रयोजनका लागि प्रवक्ता भूषण घिमिरेको संयोजकत्वका एक समिति गठन गर्ने निर्णय गरिएको छ । यस्तै प्रवासमा रहेका नेपाली पत्रकारलाई संगठित गर्दै गैरआवासीय नेपाली संघको हितमा सहभागी गराउने उद्देश्यले विदेशमा रहेका पत्रकारको एक भेलाको आयोजना गर्नेबारे सम्भाव्यता अध्ययन गरी आगामी बैठकमा प्रतिवेदन पेश गर्न चिरन शर्मा (यूके) , फडिन्द्र भट्टराई (यूके) र बसन्त सापकोटा (स्पेन) रहेको एक समिति गठन गरिएको छ ।
बैठकले संघको मिडिया तथा प्रकाशन समितिको सल्लाहकार समेत चयन गरेको छ । सल्लाहकारहरुमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल आर्थिक पत्रकार संघ (सेजन) को अध्यक्ष पुष्पराज आचार्य र दधी सापकोटा (फ्रान्स) लाई चयन गरिएको छ ।
बैठकले समितिको सक्रियता बढाउन कार्यविभाजन गर्दै सहसंयोजकहरु हेमन्त काफ्ले र विजय घिमिरेलाई संघको छवि बढाउँदै र गैरआवासीय नेपाली अभियानलाई सघाउने लेख रचना लेखन तथा संयोजनको र चिरन शर्मालाई समाचार संयोजनको जिम्मेवारी दिएको छ । यसैगरी बैठकले संघका गतिविधिलाई सामाजिक सञ्जालमार्फत सूसुचित गर्न फेसबुक लगायत सामाजिक संजालहरुलाई प्रभावकारी बनाउन काठमाडौंस्थित संघको सचिवालयसंग मिलेर कार्यगर्ने निर्यण पनि गरेको छ ।
बैठकले गैरआवासीय नेपाली संघ यूकेको सकृयतामा स्थापान भएको एनआरएन अन्तराष्ट्रिय पुरस्कारलाई थप प्रभावकारी बनाउने उद्देश्यले एनआरएन यूके र नेपाल पत्रकार महासंघ यूके शाखासँग छलफल गर्न फडिन्द्र भट्टराई र चिरन शर्मा रहेको कार्यदल गठन गरेको छ ।
पत्रकारिता तालिम तथा पुरस्कार स्थापानाको लागि आवश्यक गृहकार्य गर्न होम लम्साल (अमेरिका) लाई जिम्मेवारी दिएको छ ।