नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्रीले शिलान्यास गर्ने

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्रीले शिलान्यास गर्ने

काठमाडौं, ४ कात्तिक । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आज (सोमवार) शिलान्यास गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गर्नुहुने सडक विभागले जनाएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो। यसका लागि २२ अर्ब रुपैयाँ लाग्नेमा जाइकाले १६ अर्ब रुपैयाँ सहयोग गर्ने र छ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।

सोमबार अपरान्ह चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सुरुङमार्ग शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताए।

प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको बताउँदै उनले करिब छ अर्ब रुपैयाँ प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने उल्लेख गरे। काठमाडौंको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको उनले बताए।

धादिङको धुनिवेशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि शुरु गरिनेछ। चार वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भएपनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो। उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए। सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ। सडक पूर्वाधारमा यहाँ निर्माण हुनलागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो।

सुरुङमार्गका लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो। निर्माण कम्पनीले साँढे तीन वर्षमा काम सक्नेछ। सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ।

सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ। रासस