काठमाडौं – गएको जेठ २३ गते नेपालको ४० औँ प्रधानमन्त्रीमा निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राजीनामा दिने तयारी गरेका छन् । दिउँसो तीन बजे मन्त्रीपरिषदको बैठक बस्ने र त्यसपछि प्रधानमन्त्री देउवाले राजीनामा दिने तयारी गरेका हुन् ।
कानुन मन्त्री यज्ञबहादुर थापाका अनुसार मन्त्रीपरिषद बैठकमा यसबारेमा छलफल हुने र निर्णय लिइने सम्भावना रहेको छ । ‘दिउँसो तीन बजे क्याबिनेट बस्दैछ छलफलपछि राजीनामाको निर्णय हुन सक्छ ’ मन्त्री थापाले भनेँ ।
निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको समानुपातिक तर्फ निर्वाचित सदस्याको नामावलीसहित प्रतिनिधिसभा निर्वाचनको पूर्व प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ । यो प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले देउवाले बुधबार नै राजीनामा दिने तयारी गरेका हुन् ।
देउवा गएको जेठ २३ गते नेपालको ४० औँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । गणतन्त्र नेपालका नवौँ प्रधानमन्त्री बनेका देउवाको यो प्रधानमन्त्रीका रुपमा चौथो कार्यकाल हो ।