आलमको मुद्दामा पूर्वाग्रह र दबाबमुक्त रहेर गर्ने अनुसन्धानमा कांग्रेसको सहयोग रहन्छ : देउवा (विज्ञप्तिसहित)

आलमको मुद्दामा पूर्वाग्रह र दबाबमुक्त रहेर गर्ने अनुसन्धानमा कांग्रेसको सहयोग रहन्छ : देउवा (विज्ञप्तिसहित)

काठमाडौं, २ कार्तिक । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी कानुनी राजको विपक्षमा नरहेको स्पष्ट पारेका छन् । १२ वर्षअघि रौतहटमा भएको घटनामा पार्टी सांसद मोहम्मद अफताव आलामलाई पक्राउ गरी अनुसन्धान जारी रहँदा शुक्रबार आफूले दिएको अभिव्यक्तिले भ्रम सिर्जना भएको भन्दै सभापति देउवाले विज्ञप्ति जारी गर्दै पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

सभापति देउवाले आलमको मुद्दामा पूर्वाग्रह र दबाबमुक्त रहेर गर्ने अनुसन्धानमा कांग्रेसको सहयोग रहने स्पष्ट पारेका छन् । ‘कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्बेषण गर्ने कार्यमा बाधा पुग्छ नै ।

१२ बर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ । तर कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन । मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ,’ सभापति देउवाले भनेका छन्, ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु ।’