काठमाडौं, २ कार्तिक । आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको उम्मेदवारी दर्ता कात्तिक २१ मा र स्थानीय तहको उम्मेदवारी दर्ता कात्तिक २७ गते हुने भएको छ । तीनवटै तहका रिक्त ५२ पदका लागि एकैदिन मंसिर १४ गते उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगले शुक्रबार उपनिर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुनले प्रतिनिधिसभारप्रदेशसभाका लागि चुनाव प्रचारप्रसारको अवधि कम्तीमा १५ दिन तथा स्थानीय तहका लागि कम्तीमा ८ दिन हुनुपर्ने भनेकाले मनोनयन दर्ताको मिति अलग-अलग भएको बताए । २०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रचारप्रसारका लागि २५ दिनको समय दिइएको थियो । यसपटक प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले प्रचारप्रसारका लागि १६ दिनको समय पाउनेछन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मनोनयनपत्र दर्ताका लागि कात्तिक २१ गते बिहान १० बजेदेखि अपराह्न साढे १ बजेसम्मको समय निर्धारण गरिएको छ । प्रमुख आयुक्त थपलियाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी मनोनयन दर्ता निर्वाचन हुने जिल्लाको सदरमुकामस्थित निर्वाचन कार्यालयमा हुनेछ ।
उम्मेदवारी मनोनयन भएकै दिन ३ बजेभित्र उम्मेदवारको सूची प्रकाशन गरिने, भोलिपल्ट २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते उजुरीउपर जाँचबुझ र नामावली प्रकाशनको कार्यक्रम तोकिएको छ । उम्मेदवारी फिर्ता लिन कात्तिक २४ गते बिहान १० देखि १ बजेसम्मको समय तोकिएको छ । त्यही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । २५ गते उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछन् ।
आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमअनुसार स्थानीय तहतर्फ कात्तिक २७ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । त्यही दिन उम्मेदवारको सूची प्रकाशन गरिनेछ । २८ गते उम्मेदवारउपर उजुरी गर्ने, २९ गते नामावली प्रकाशन, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तोकिएको छ ।