राजपामा विवादः समानुपातिकलाई मन्त्री बनाउने कि नबनाउने ?

राजपामा विवादः समानुपातिकलाई मन्त्री बनाउने कि नबनाउने ?

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) भित्र समानुपातिक सांसदलाई मन्त्री बनाउने कि नबनाउने भन्ने विवाद चर्केको छ । प्रदेश २ मा मधेसी जनअधिकार फोरम र राजपाले सरकार बनाउने गृहकार्य अघि बढाएसँगै यो विवाद सतहमा आएको हो ।

राजपाका महासचिव केशव झाले यही विवादका कारण बिहिबार मुख्यमन्त्रीको शपथसँगै गठन हुने सरकारमा आफ्नो पार्टी सहभागी नहुने जानकारी दिए । फोरम र राजपाबीच माघ २६ गते मुख्यमन्त्रीसहित चार मन्त्रालय फोरम र सभामुखसहित तीन मन्त्रालय राजपाले लिने सहमति भएको थियो ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले पार्टीभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएकाले समानुपातिक सांसदलाई तत्काल मन्त्री बनाउन नहुने प्रस्ताव पार्टीमा राखेका छन् ।

तर, अध्यक्ष मण्डलका सदस्यमध्ये राजकिशोर यादव र अनिल झाले त्यस प्रस्तावप्रति आपत्ति जनाएका छन् । उनीहरूले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदको हैसियत बराबर भएको भन्दै त्यस्तो प्रस्ताव आफूहरूले नमान्ने बताए ।

राजपाभित्र २५ सांसदमा १० जना समानुपातिकबाट निर्वाचित छन् । अधिकांश सांसद मन्त्रीका आकांक्षी छन् । राजपाले तीन मन्त्री र तीन राज्यमन्त्री पाउने तय भएको छ । अध्यक्ष मण्डलका सदस्य झाकी श्रीमती डिम्पल झासमेत मन्त्रीको आकांक्षी छिन् ।

उनी समानुपातिक सांसद हुन् । झा आफ्नी पत्नीलाई मन्त्री बनाउने उद्देश्य राखेरै समानुपातिकलाई मन्त्री बनाउन नहुने प्रस्तावको विरोधमा उत्रिएको स्रोतले बतायो । फागुन ३ गते मुख्यमन्त्री लालबाबु राउतले शपथ लिने कार्यक्रम छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

उनको शपथसँगै मन्त्रिमण्डल विस्तार गर्ने योजना भए पनि राजपाले तत्काल मन्त्रिपरिषद्मा कसैलाई पनि नपठाउने महासचिव झाले बताए ।