एनआरएनएकाे नवाैं विश्व सम्मेलन आजदेखि

एनआरएनएकाे नवाैं विश्व सम्मेलन आजदेखि

काठमाडौं, २८ असोज । नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबारदेखि राजधानीमा सुरु हुने गैरआवासीय नेपाली सङ्घको नवौँ विश्व सम्मेलनको उद्घाटन गर्नु हुनेछ ।

सोमबार एक कार्यक्रमको आयोजना गर्दै सङ्घले सम्मेलनका लागि विदेशबाट सदस्यको दर्ताको काम पनि पूरा भएको जनाएको हो । उक्त सम्मेलनमा ८० देशका करिब एक हजार पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने महासचिव बद्री केसीले जानकारी दिनुभयो । विश्व सम्मेलन सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुँदै छ।

‘म मेरो एनआरएन र मेरो नेपाल’ नारासहित आयोजना हुने सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ । सम्मेलनको पहिलो दिन औपचारिक उद्घाटनसहित विभिन्न दुईवटा सत्रमा छलफल कार्यक्रम छ । दोस्रो दिन सङ्घको विधानमाथि छलफल तथा संशोधनपछि निर्वाचनको कार्यक्रम रहनेछ । सङ्घको यो सम्मेलनले नयाँ नेतृत्वसहित विभिन्न १२ वटा पदमा ४२ सदस्यीय कार्यसमितिसमेत चयन गर्ने छ ।

सङ्घका अध्यक्ष भवन भट्टले सम्मेलनमा मुलुकको समृद्धिको यात्रामा दिशा निर्देशन हुने एजेण्डामा छलफल गरिने बताए। उनका अनुसार ऊर्जा, पर्यटन, पूर्वाधार विकासमा करीब सय अर्ब लगानी गर्ने योजना रहेको जानकारी दिए। उनले सम्मेलनले सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न ऊर्जा प्रदान गर्दै ‘नेपालका लागि नेपाल’ भन्ने मूल मन्त्रलाई सार्थक बनाउने विश्वास व्यक्त गरे।

सङ्घका प्रवक्ता भुषण घिमिरेका अनुसार सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा उच्चस्तरिय आयोजक समिति, सङ्घका अध्यक्ष भट्टको संयोजकत्वमा सङ्घको आन्तरिक आयोजक समिति गठन गरिएको छ।

असोज ३० गतेसम्म सञ्चालन हुने सम्मेलनमा मुलुकको आर्थिक विकासमा सङ्घको भूमिकालगायत विभिन्न सात शीर्षकमा छलफलसमेत हुने प्रवक्ता घिमिरेले जानकारी दिए। महाधिवेशनले सङ्घको नयाँ नेतृत्वसमेत चयन गर्नेछ।

नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुने जनाएको छ। नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ। सङ्घको नयाँ नेतृत्वका लागि प्रत्येक दुई-दुई वर्षमा निर्वाचन हुने गर्दछ। कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ। सम्मेलनमा भाग लिन गैरआवासीय नेपाली काठमाडाैं आएका छन्।