कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हेमराज विसी निर्देशित चलचित्र ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिका छ । चलचित्रमा अभिनेता निश्चल वैदेशिक रोजगारीबाट गाउँ फर्किएको एक युवकको भूमिकामा छन् । उनी विदेशमा कमाएको पैसाले किनेको खेतमा तरकारी खेती गर्ने योजना बनाएर गाउँ फर्किन्छन् ।
तर, विदेशमा कमाएको पैसाले किनेको जग्गा खोलाले बगाएपछि घामड पात्रले गर्ने संघर्ष ट्रेलरमा देखाइएको छ । चलचित्रमा उनको सालीको भूमिका अभिनेत्री स्वस्तिमाले निभाएकी छन् । कमर्शियल शैलीमा तयार पारिएको ट्रेलरले चलचित्रप्रति दर्शकलाई उत्सुकता जागृत गर्न सफल हुने देखिन्छ । चलचित्रमा निश्चलको श्रीमतीको भूमिकामा सुष्मा निरौला छिन् । कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा चलचित्र खिचिएको हो ।
‘घामड शेरे’ कमेडी विषयवस्तुमा निर्माण भएको बताइएको छ । गौरी मल्लको अतिथी भूमिका रहेको चलचित्रमा बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारहरुको पनि अभिनय छ । नरेन्द्र विक्रम बुद्ध क्षेत्री कार्यकारी निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको चलचित्रमा संगीत छ । निर्देशक विसीले नै चलचित्रको कथा तथा पटकथा लेखेका हुन् ।
‘घामड शेरे’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको निर्माता समेत रहेका निर्देशक विसीले बताए । यसपटक आफूले मौलिक कथा पस्कने प्रयास गरेको उनको भनाई छ । अभिनेत्री स्वस्तिमाले पहिलो पटक निर्देशक विसी र श्रीमान् निश्चलसँग काम गर्न पाउँदा रमाइलो अनुभव भएको बताइन् । अभिनेता निश्चल भने चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको बताउँछन् । चलचित्रका निर्माता सिमोस सुनुवार हुन् ।
ट्रेलर हेर्नुहोस् :-