काठमाडौं, २५ असोज । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको अवसर पारेर आज( आइतबार) आयाेजना गरेकाे चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापानमा पार्टी कार्यकर्ता एवं आमन्त्रितको भीड लागेको थियो । त्यस्तै कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, सञ्चारकर्मीलगायत विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहेको थियो।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वप्रधानमन्त्रीहरु एवं सचिवालय सदस्य झलनाथ खनाल, माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेताहरु सुवास नेम्वाङ्ग, अमृत बोहरा, देव गुरुङ लगाएतको उपस्थिति थियो।
आमन्त्रितलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महतलगायत नेताले स्वागत गरेका थिए ।
विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।