दुई दिने राजकीय भ्रमण पूरा गरी फर्किए चिनियाँ राष्ट्रपति सी

दुई दिने राजकीय भ्रमण पूरा गरी फर्किए चिनियाँ राष्ट्रपति सी

काठमाडौं, २६ असोज । राष्ट्रपति विद्यादेबी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आज स्वदेश फर्कुनुभएको छ ।

शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं आउनुभएका सी आज दिउँसो सवा २ बजेपछि स्वदेश फर्किनुभएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेबी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरुसहित विशिष्ट पदाधिकारीहरुले विदाई गर्नुभएको थियो ।

त्यस अवसरमा राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।राष्ट्रपति सी विमानस्थल पुग्नुहुँदा पञ्चकन्यासहित बालबालिकाहरुले नेपाल र चीनको राष्ट्रिय झण्डा फहराएका थिए भने विभिन्न सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियो । त्यस क्रममा राष्ट्रपति सीले अभिबादन फर्काउनुभएको थियो ।

त्यसअघि राष्ट्रपति सी सोल्टी होटलबाट विमानस्थल जानुहुँदा सडकका किनारमा सर्वसाधारण, विद्यार्थी र राष्ट्रसेवक कर्मचारीहरुले दुबै देशका झण्डा फहराएका थिए ।

सीको स्वदेश फिर्तीको समयमा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो २ बजेसम्म आन्तरिक तथा बाह्य सबै उडान–अवतरण बन्द गराइएको थियो ।