दुईदिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति शनिबार आउँदै

दुईदिने नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति शनिबार आउँदै

काठमाडौं, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको मिति टुंगो लागेको छ । उनी अक्टोबर १२ र १३ तारिख (असोज २५ शनिबार र २६ गते आइतबार) नेपालको राजकीय भ्रमणमा आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भ्रमणबारे औपचारिक जानकारी गराएको हो । चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति भण्डारीले रात्रि भोज दिने कार्यक्रम छ ।

भ्रमणका क्रममा सीले नेपाली समकक्षी भण्डारीसँग औपचारिक भेट गर्नेछन् । परराष्ट्रद्वारा जारी विज्ञप्तिअनुसार चिनियाँ राष्ट्रपति सीले प्रतिनिधिमण्डल स्तरको दुईपक्षीय वार्ता भने नेपाली प्रधानमन्त्री केपी ओलीसँग गर्नेछन् ।

वार्ताका क्रममा दुवै प्रतिनिधिमण्डलबीच विभिन्न विषयमा दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुनेछ छ । यस्तै सीले नेपालका अन्य वरिष्ठ नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम मिलाइएको परराष्ट्रले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’ भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नुहुनेछ ।

सुरक्षा व्यवस्था चुस्त बनाइने
करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपाली तयारी तीव्र बनेको छ । उनको सुरक्षा व्यवस्था चुस्त बनाइनेछ । उनको सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । सीलाई नेपाल सरकारले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ । यद्यपि उनले चीनबाटै पनि केही सुरक्षाकर्मीहरु पनि ल्याउनेछन् । उनको स्वागतका लागि काठमाडौंका सडकहरु पनि सिँगारिएका छन् ।