काठमाडाैं,१९ असाेज । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ। महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको हाे। प्रहरीले महरालाई उनी आफैैंले प्रयोग गर्ने बा १८ च ४०० नम्बरको निजी गाडीमा लिएर गएकाे हाे।
महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउ पूर्जी जारी गरेको थियो। न्यायाधीश ब्रजेश प्याकुरेलको आदेशले पक्राउको अनुमति दिएलगत्तै प्रहरीले सभामुख निवास गएर नियन्त्रणमा लिएको हो। महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिएकाे छ।
संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्।
उनको किटानी जाहेरीपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको हाे। प्रहरीले शुक्रबार नै पीडित भनिएकी महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ।