काठमाडाैं, १८ असाेज । यसै महिनाको अन्त्यमा हुन गइरहेको चीनका राष्ट्रपति सी जिनपिङको औपचारिक नेपाल भ्रमणको व्यापक तयारी भएको छ।
सरकारको विशिष्ट निकाय, गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, प्रशासनिक निकाय, विकासका साझेदारलगायत सबै निकायमा यतिबेला राष्ट्रपति सी भ्रमणको तयारीको चटारो छ। नेपालीको महान् पर्व बडादशैँको अवधि भए पनि यस पर्वको अघि र पछि तयारी अवस्थामा बस्न कर्मचारीलाई निर्देशन दिइएको छ।
“चीनका राष्ट्रपतिको आसन्न भ्रमणको सरकारले तीव्र तयारी गरिरहेको छ,” प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने, “सबै तहबाट उच्चस्तरीय भ्रमणलाई उच्च बनाउने प्रयास भइरहेको छ।” उनका अनुसार चीनका राष्ट्रपति सीको औपचारिक भ्रमणको मिति सार्वजनिक नभए पनि भ्रमण तय भएकाले सोहीअनुसार नेपाल सरकारले आफ्नो तयारी गरिरहेको छ।
उच्चस्तरीय भ्रमणका लागि हुने सहमतिका कार्यसूचीबारे भने थप छलफल चलिरहेको उनले जानकारी दिए। द्विपक्षीय सम्बन्धलाई मर्यादित, प्रभावकारी र नेपालका लागि फलदायी बनाउन परराष्ट्र मन्त्रालयले छुट्टै तयारी गरिरहेको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना मन्त्रालयका सम्बन्धित महाशाखा र पदाधिकारीलाई भ्रमण सफल बनाउन चनाखो रहेर काम गर्न निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ। दुई देशको सम्बन्ध मात्र हैन, विश्वकै आँखा परेको चीनका राष्ट्रपति सीलाई नेपालमा स्वागत गर्न कुनै कसर बाँकी नराख्ने गरी तयारी गर्नुपर्नेमा मन्त्री ज्ञवालीको जोड रहेको मन्त्रालयले जनाएको छ। याे खबर आजकाे गाेरखापत्र दैनिकमा प्रकाशित छ ।