दशैमा राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने

दशैमा राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं , १७ असाेज । यसवर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । पहिलो चरणमा उपप्रधानमन्त्री, मन्त्री, सांसद, न्यायाधीशहरु र संवैधानिक निकायका पदाधिकारीका अलावा उच्च सरकारी अधिकारीहरुलाई टीका लगाइदिने तय भएको हो । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो १ देखि २ बजेसम्म सरकारका वरिष्ठ अधिकारीहरुलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

दोस्रो चरणमा दिउँसो साँढे दुई देखि साँढे तीन बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।विगतका वर्षहरुमा पनि राष्ट्रपतिको हातबाट उच्च सरकारी अधिकारी र सर्वसाधारण टीका लगाउने जाने गर्दथे ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति :

सम्माननीय राष्ट्रपतिज्यूबाट बडादशैं, २०७६ को अवसरमा मिति २०७६ असोज २१ गते मंगलबार विजया दशमीका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट टीका ग्रहण गर्न इच्छुक सम्माननीयज्यूहरु, माननीय उपप्रधानमन्त्रीज्यूहरु, माननीय प्रदेश प्रमुखज्यूहरु, माननीय मन्त्रीज्यूहरु, माननीय न्यायाधीशज्यूहरु, संघीय-संसदका माननीय सदस्यज्यूहरु, संवैधानिक निकायका माननीय पदाधिकारीज्यूहरु, विशिष्ट महानुभावज्यूहरुलाई अपरान्ह १:0० बजे देखि २:0० बजे सम्म र अन्य इच्छुक महानुभावहरुका लागि अपरान्ह २:३० बजे देखि ३:३० बजे सम्म टीका प्रदान हुने कार्यक्रम रहेको हुँदा सो दिन शीतलनिवासको गेट नं. 1 को ढोका खुल्ला रहने व्यहोरा जानकारीको लागि अनुरोध छ ।

(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता