मानव अधिकार आयोगले महरा प्रकरणको छानबिन गर्ने

मानव अधिकार आयोगले महरा प्रकरणको छानबिन गर्ने

काठमाडाैं, १७ असाेज ।  निवर्तमान सभामुख कृष्णबहादुर महरा र संसद सचिवालयकी कर्मचारी रोशनी शाहीबीचको घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो देखाउदै छानबिन गर्न एक समिति गठन गरेको छ ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै घटना भएपश्चात् सञ्चार तथा सूचनाको अनुगमन गरिरहेको जनाएको छ ।नेपाल प्रहरीसँग हालसम्म भएको अनुसन्धान र पीडित शाही र घटना बाहिर ल्याउने पत्रकारको सुरक्षा अवस्थाबारे पनि जानकारी माग गरेको आयोगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।घटनाको अनुसन्धानका विविध पक्षका सम्बन्धमा सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन भएको छ ।

संसद सचिवालयमा कार्यरत शाहीले सुरुमा सभामुख महरामाथि बलात्कारको आरोप लगाए पनि पछि बलात्कार नभएको भन्दै संचार माध्यमलाई अन्तर्वार्ता दिएकी थिइन् । यही घटनाका कारण महराले सभामुख पदबाट राजीनामा दिइसकेका छन् ।