काठमाडाैं, १७ असाेज । दसैंको अवसरमा उपत्यका छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। बसपार्क र उपत्यकाबाट बाहिरिने नाकामा घर फर्कनेको भीड बढेको छ। एकै दिन साढे २ लाख बढी यात्रु बाहिरिएका छन्। अहिलेसम्म १५ लाखभन्दा बढी यात्रु दसैं मनाउन उपत्यकाबाट बाहिरिएका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले बुधबार मात्र २ लाख २१ हजार ३ सय ६९ यात्रु बाहिरिएको जानकारी दिए। बिहीबार बुधबारको तुलनामा उपत्यकाबाट बाहिरिने यात्रु अझै वृद्धि भएको उनको भनाइ छ। मंगलबार १ लाख ९९ हजार १ सय २९ यात्रु बाहिरिए भने सोमबार १ लाख ५७ हजार बाहिरिएका थिए।
एकै दिन लाखौं यात्रुहरू उपत्यका छाडेर बाहिरिरहेका छन्। यातायात व्यवसायीले बस थपेको जनाए पनि कतिपय यात्रुले भने अहिले पनि टिकट नपाइरहेको गुनासो गरेका छन्। प्रवक्ता पौडेलले टिकटको समस्या सामान्य रहे पनि ठूलो मात्रामा नदेखिएको बताए।
सरकारले दसैंमा २५ लाख मानिस बाहिरिने अनुमान गरेको छ। प्रवक्ता पौडेलले दसैंको अवसरमा २५ लाख सर्वसाधारण बाहिरिने अनुमान गरिएकोमा भित्रने पनि उति नै रहेकाले त्यो संख्या केही कमी हुन सक्ने बताउँछन्।
अघिल्ला वर्षभन्दा यो वर्ष उपत्यकामा आएर दसैं मनाउनेको संख्या वृद्धि भइरहेको देखिएको छ। सामान्यतयाः दैनिक ६० हजार मानिस उपत्यका भित्रने र ६० हजार बाहिरिने गरेकोमा अहिले काठमाडौं उपत्यका भित्रिने यात्रु पनि बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ। याे खबर आजकाे राजधानीमा प्रकाशित छ।