राष्ट्रसङ्घका उच्च अधिकारीद्वारा नेपालको प्रशंसा

राष्ट्रसङ्घका उच्च अधिकारीद्वारा नेपालको प्रशंसा

– विशेष प्रतिनिधि शरच्चन्द्र भण्डारी –

न्यूयोर्क, ७ असोज । संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदानको राष्ट्रसङ्घका उच्च अधिकारीले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार भएको शिष्टाचार भेटमा उक्त विश्व संस्थाको शान्तिकार्य विभागका उपमहासचिव जा पियरे लाक्वाँ र शान्तिकार्य समन्वय विभागका उपमहासचिव अतुल खरेले नेपाली शान्ति सेनाको बहादुरी, व्यावसायिकता र इमानदारीको प्रशंसा गर्नुभएको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घका शान्तिकार्य समन्वय विभागका उपमहासचिव अतुल खरे शिष्टाचार भेट गर्दै । राष्ट्रसङ्घको ७४ औँ महासभा बैठकमा सहभागी हुने सिलसिलामा हाल मन्त्री ज्ञवाली न्युयोर्कमा हुनुहुन्छ । तस्वीर : शरच्चन्द्र भण्डारी

नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यलाई अन्तरराष्ट्रिय शान्ति तथा स्थायित्वका लागि उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री ज्ञवालीले त्यस कार्यमा सदैव आफ्नो क्षमताअनुसारको सहयोग नेपालबाट निरन्तर प्राप्त हुने प्रतिबद्धता जनाउनुभयो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग फिनल्याण्डका विकास सहायता तथा वैदेशिक व्यापारमन्त्री भिले इस्किनारी संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालय न्युयोर्कमा सोमबार भेटवार्ता गर्दै । तस्वीर : शरच्चन्द्र भण्डारी

“नेपालको परराष्ट्र नीतिको अभिन्न अङ्गको रुपमा संयुक्त राष्ट्रसङ्घका लक्ष्य तथा उद्देश्यलाई लिइएको छ, शान्ति स्थापनाका कार्यलाई उच्च प्राथमिकता दिइएको छ”, मन्त्री ज्ञवालीले भन्नुभयो । मन्त्री ज्ञवालीले नेपालको योगदान र सहभागिताका आधारमा कार्यक्षेत्र र प्रधान कार्यालयमा उच्च तहमा नेपालको उपस्थिति अपरिहार्य भएको बताउनुभयो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग संयुक्त अरब इमिरेट्स्का विदेश राज्यमन्त्री अन्वर बिन मोहम्मद गार्गस संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालय न्युयोर्कमा सोमबार भेटवार्ता गर्दै । साथमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतकुमार राई र परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल । तस्वीर : शरच्चन्द्र भण्डारी

संयुक्त राष्ट्रसङ्घले नेपाली शान्ति सेनाको सङ्ख्या बढाउन अनुरोध गरेमा त्यसका निम्ति नेपाल सरकार तयार रहेको जानकारी पनि मन्त्री ज्ञवालीले उपमहासचिवद्वयलाई दिनुभएको थियो । दुवै भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राई, नायब स्थायी नेपाली प्रतिनिधि घनश्याम भण्डारी उपस्थित हुनुुहुन्थ्यो । रासस