‘आभास बचत तथा ऋण सहकारी उदाहरणिय सहकारी’

‘आभास बचत तथा ऋण सहकारी उदाहरणिय सहकारी’

काठमाडौं, ३ असोज । आभास बचत तथा ऋण सहकारी संस्था लि. को ११औं वार्षिक साधारण सभा सम्पन्न भयो । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव एवम् प्रमुख अतिथि प्रकाश थापाले ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकताबद्ध प्रयास नै सहकारी भएको बताउनु भयो ।

सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का कार्यकारी प्रमुख समेत रहनुभएका थापाले समाजशास्त्रीको नजरमा सहकारिता सामाजिक उत्पिडनबाट मुक्ति प्राप्त गर्ने साधन भएको र प्राविधिक रुपमा यसलाई एउटा व्याबसायिक कौशलको रुपमा लिइएको उल्लेख गर्नुभयो । मानव सभ्यताको शुरुवातसँगै समूहमा बस्ने, सामूहिक रुपमा काम गर्ने र सुख दुःखमा एक अर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारीताको भावना प्रकट भएको बताउदै उहाँले सोही अनुरुप आभास बचत तथा ऋण सहकारी संस्था लि. अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो । साथै उहाँले आभास बचत तथा ऋण सहकारी सबै सहकारीकालागी उदाहरणिय भएकाे बताउनुभयाे ।

त्यसैगरी विशिष्ट अतिथि रजिष्टर्ड अडिटर निरञ्जन आचार्यले नयाँ ऐन अनुरुप सहकारीहरु अघि बढ्न सुझाव दिनुभयो । साथै उहाँले हालै जारी भएको सन्दर्भ व्याजदर संशोधन हुनुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले आभास बचत तथा ऋण सहकारी संस्था लि. लाई ११औं वार्षिक साधारण सभासम्म ल्याउन साथ सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सहकारीले शेयर सदस्यलाई थप सेवाहरु दिदै जाने दिर्घकालिन योजनाहरु ल्याएको बताउनुभयो ।

त्यसैगरी संस्थाका कोषाध्यक्ष बालकृष्ण श्रेष्ठले संस्थाको वार्षिक प्रगती प्रतिवेदन तथा आर्थीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कार्यकारी प्रमुख उत्तम बस्नेतले संस्थाको आगामी योजनाहरुकोबारेमा शेयर सदस्यहरुलाई प्रकाश पार्नुभएको थियो ।