डोरमणि पौडेल मुख्यमन्त्री नियुक्त, सोमबार साढे ९ बजे सपथ

डोरमणि पौडेल मुख्यमन्त्री नियुक्त, सोमबार साढे ९ बजे सपथ

काठमाडौं, माघ २८ । प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले एमाले नेता डोरमणि पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्। आइतबार माओवादी र एमालेको प्रदेशको संसदीय दलको कार्यालयले पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्राचार गरेको थियो।

‘बहुमत पुगेको दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्नु भन्ने हस्ताक्षरसहितको पत्र आएपछि आजै प्रदेश प्रमुखले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो,’ प्रदेश प्रमुखको कार्यालयका सचिव चतुर्भज ज्ञवालीले भने।

मुख्यमन्त्री नियुक्त पौडेलले सोमबार बिहान ९ बजे सपथ लिनेछन्। ‘साढे ११ बजे उहाँले पदबहाली गर्नुहुन्छ,’ प्रदेश मुख्यमन्त्रीको कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले भने।