किन बढ्यो चिनियाँ चहलपहल नेपालमा ?

किन बढ्यो चिनियाँ चहलपहल नेपालमा ?

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाल सधैं चीनको प्राथमिकतामा रहेको बताएकी छन् । चिनियाँ दूतावास, चीनको युनान प्रान्तीय जनसरकार र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजकत्वमा चीन–नेपाल अन्तरदेशीय ‘वसन्त चाड’ अर्थात् ‘कुकुर वर्ष’ मनाउन आयोजित कार्यक्रममा शुक्रबार राजदूत युले पछिल्लो समय चीनले छिमेक नीतिलाई बढी महत्त्व दिएको उल्लेख गर्दै  नेपाल स्वतः उच्च प्राथमिकतामा रहेको बताइन् ।

नेपाल र चीनबीच सन् २०१७ मा धेरै महत्त्वपूर्ण सहकार्य अघि बढेको उदाहरण दिँदै उनले उक्त वर्ष चीनका लागि पनि निकै महत्त्वपूर्ण रहेको स्पष्ट पारिन् ।

नेपालको उन्नति चीनको चाहना रहेको भन्दै उनले अब नेपाल विकासको गतिमा अघि बढ्ने उल्लेख गरिन् । नेपालको विकास प्रक्रियामा चीनले सधैं महत्त्वपूर्ण सहकार्य गरिरहेको पनि उनले बताइन् ।

उनले अघिल्लो वर्षको दाँजोमा यस वर्ष ३४ प्रतिशतले चिनियाँ पर्यटक वृद्धि भएको तथ्यांकले देखाएको उल्लेख गर्दै यसमा आफू खुसी रहेको बताइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको उक्त कार्यक्रममा राजदूत युले २०१७ मा दुई देशबीचको कुल व्यापार वृद्धि ११ दशमलव २ प्रतिशतले भएको सुनाइन् ।

नेपालले राजनीति स्थिरतामा फडको मारेको भन्दै अब विकासतर्फ उन्मुख रहँदा सहकार्य अझ बढ्ने उनको धारणा थियो । उनले चीन लगातार दुई वर्षसम्म नेपालका लागि सबभन्दा ठूलो लगानीकर्ता मुलुक बनिरहेको पनि बताइन् ।

दुवै देशबीच बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सहकार्यको समझदारीपत्रमा समेत हस्ताक्षर गरेर अघि बढनु पनि महत्त्वपूर्ण भएको उनले बताइन् ।

राजदूत युले चीन सरकारको महत्त्वपूर्ण कदममा नेपालले दिएको साथप्रति खुसीसमेत व्यक्त गरिन् । सीमापार स्थल अप्टिकल फाइबर पनि खोलिसकिएकाले दुई देशबीचको सहकार्य धेरै हिसाबले अघि बढेको बताइन् । नेपाल र चीनबीच भएका अन्य सहमति पनि विस्तारै कार्यान्वयन हुने विश्वास उनको थियो ।

युनान प्रान्तबाट आएको टोलीका प्रतिनिधिहरूले पनि नेपालमा धेरै पर्यटक पठाएर सहयोग गर्न आफूहरू तयार रहेको बताए । उनीहरूले सन् २०२० सम्म २० करोड चिनियाँ वार्षिक भ्रमणमा हिँड्ने हुनाले त्यसको केही प्रतिशत नेपालमा पार्न पहल गर्नेसमेत बताए । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

 ‘छुन्चे’ भनिने यो नयाँ वर्षमा भएका प्रशस्त सहकार्य र सम्भावनाबीच दुई मुलुक मिलेर अघि बढ्ने उनीहरूले उल्लेख गरे । कार्यक्रमपछि चीन तथा नेपालको संस्कृति झल्कने नृत्य प्रदर्शन गरिएको थियो ।