काठमाडौं – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ ।
१ सय ३९ रनको लक्ष्य पछ्याएको ओमानले सो लक्ष्य ३५.१ ओभरमै ६ विकेटको क्षतिमा पुरा गर्यो । ओमानका लागि अकिब इल्यासले सर्वाधिक ४६ रन जोडेका थिए भने बैभव वातेगोएन्करले ३७ रनको पारी खेले । नेपालका लागि सन्दिप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी र वसन्त रेग्मीले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै १ सय ३८ रनको योगफल तयार पार्न सफल भएको थियो । नेपालको ब्याटिङ प्रदर्शन आज पनि फितलो देखियो । उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदै पाँचौं ओभरमा पभेलियन फर्के भने नेपालको अर्का ओपनर दिलिप नाथले १९ रन जोडे ।
हिजोजस्तै नेपालको मिडल अर्डर आज पनि जम्न सकेन । कप्तान पारस खड्का १७, आरिफ शेख ६, शरद भेषवाकर २२ र दिपेन्द्र ऐरी २० रन बनाउँदै आउट भएका थिए । हिजोको खेलका नायक वसन्त रेग्मी पनि आज १ रनमा आउट भए भने आफ्नो दोस्रो खेल खेलिरहेका रोहित पौडेल १४ रनमा आउट भए ।
करन केसी ४ रनमा आउट भए र सन्दिप लामिछाने पहिलो बलमै बोल्ड भए । सोमपाल कामी १७ रनमा अवजित रहे । ओमानका लागि कलेमुल्लाहले सर्वाधिक ४ विकेट लिएका थिए । यस जितसँगै ओमानले प्रतियोगितामा आफ्नो अंकको खाता पनि खोलेको छ । नेपालले पर्सी युएईको सामना गर्ने छ ।