शालिग्राम, रवी र षडयन्त्र सिद्धान्त (conspiracy theory )

शालिग्राम, रवी र षडयन्त्र सिद्धान्त (conspiracy theory )

-कुसुम भट्टराई-

यो देशमा स्पष्ट दुइ तप्का छ । एउटा तप्का सत्तामा छ र राज्यको ढुकुटीमा रजाईं गरिरहेको छ । अर्को तप्का सत्ताबाहिर छ, जसलाई ओली एन्ड प्रचण्ड कम्पनीले सत्तामा मोज गरिरहेकोमा औडाहा भइरहेको छ । सरकार विरोधी तप्का यतिबेला साम, दाम, दण्ड, भेदका साथ सरकारको उग्र विरोधमा उत्रिएको छ ।

कर्पोरेट दैनिक, ठूला घरानाका टिभी च्यानल, नाम चलेका अनलाइनहरु सत्ताको गम्भीर विरोध गर्न सकिरहेका छैनन्, विज्ञापन र अन्य कर्पोरेट स्वार्थका कारण । बाँकी मिडियामध्ये अधिकांश राजनीतिक सिण्डिकेटको शिकार छन्, जसलाई दलका झोलेहरुले चलाइरहेका छन् ।
तैपनि भरमार यटयूब च्यानल र च्याउ उम्रिएझैं उम्रीएका अनलाइन पोर्टल र स्वयं फेसबुक र टवीटरमा सरकारको विरोधको स्वर उग्ररुपमा गुंजीरहेकै छ । सरकारको खरो विरोध गर्ने यीमध्ये सबैभन्दा प्रभावकारी र शसक्त माध्यम र पात्र हुन्, ‘सिधा कुरा जनता’सँग कार्यक्रम र त्यसका संचालक रवी लामीछाने ।

रवी लामीछाने सरकार विरोधी तप्काका सबैभन्दा अग्रणी, प्रभावकारी र शसक्त आवाज हुन् भन्दा अत्युक्ती नहोला, जसले प्रचण्डका पुत्र प्रकाशको निधन हुँदादेखि प्रचण्डबाट विप्लव समूहले आफुलाई मार्न मान्छे खटाएको अभिव्यक्ति आउँदासम्म प्रचण्डलाई खेदन बाँकी राखेनन् । शसक्त विरोधको स्वर भएकै कारण सत्तासीनहरु पनि रवीसँग क्रुद्ध भएकै हुन् ।

जब पत्रकार शालिग्राम पुडासैनीले आफ्नो ‘मृत्यु घोषणा’मा रवी लामीछानेलाई आफ्नो हत्याको जिम्मेवार बताए, स्वाभाविक रुपमा कानूनी प्रकृया अनुसार रवी लामीछानेलाई प्रहरीले पक्राउ गरिहाल्यो । रवी पक्राउ हुनु र यही मुद्दामा जेलमा जाकिनु भनेको सरकार विरोधी तप्काको शसक्त प्रवक्ता गुम्नु हो । यो सरकार विरोधीहरुको लागि घाटाको कुरा हुने भो । मलाई लाग्छ, यतिबेला रवी लामीछानेका समर्थक या फयानभन्दा पनि सरकारविरोधीहरु रवीको रिहाइको माग गर्दै प्रहरी अनुसन्धान र कानूनी प्रकृयामा प्रभाव पार्न खोजिरहेका छन् । सरकारविरोधीहरुलाई आफ्ना प्रवक्तालाई बचाउनु छ ।

म पनि सरकार विरोधी तप्काकै मान्छे हुँ । प्रचण्ड र ओलीका भाइ, भतिजा, छोरी, बुहारी, भान्जा, मामा, काका, सालीका लागि यो गणतन्त्र आएको हैन भनेर बारम्बार लेखिरहेकै छु । यो सरकार ढालेर जतिसक्दो चाँडो नागरीक सरकार बनाउनुपर्छ भन्ने मान्यतालाई मैले पनि मान्दै आएको छु । तर, म सरकार विरोधी हुँ भन्दैमा मैले चोरी या डकैती गरें भने सरकार विरोधी तप्काले मेरो बचाउ गर्न मिल्छ ? म सरकार विरोधी हुँ भन्दैमा मैले कसैलाई बलात्कार गरें भने ज्ञानेन्द्र शाहीजीहरुले मलाई जोगाउनु जायज हुन्छ ? पक्कै हुँदैन ।

निश्चय नै, रवीजीले यो देशका भ्रष्ट शासकहरुको भण्डाफोर गर्दै आउनु भएको हो । टिभी स्क्रीनमा उहाँको भूमिका परोपकारी, कल्याणकारी, जनपक्षीय र सच्चा पत्रकारको जस्तो हामीले देख्दै आएका हौं । यो नालायक सरकारका गलत हर्कतविरुद्ध रवीजीले आवाज उठाउँदै आउनुभएको हो । तर, त्यसो भन्दैमा उहाँबाट नेपथ्यमा कुनै कमजोरी, गल्ती या अक्षम्य अपराध भएको रहेछ भने, ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा देखिने रवी लामीछानेलाई हेरेर हामीले उहाँको नेपथ्यको गलत भूमिकालाई पनि सही मुल्यांकन गर्न मिल्दैन ।

हामी जहिले पनि कन्स्पीरेसी थ्यौरी (षडयन्त्र सिद्धान्त)को पछि दौडन्छौ । मदन भण्डारीको वास्तवमै गाडी दुर्घटनामा मृत्यु भएको हुनसक्छ, तर हामीले पत्याएनौ र मदनको हत्या नै भएको कन्स्पीरेसी थ्यौरीलाई दिमागमा राखिरह्यौं । दरबार हत्याकाण्ड देशी बिदेशी षडयन्त्रको साटो दिपेन्द्रकै प्रेम आवेगले जन्माएको सनककै परिणाम हुनसक्छ, तर हामीले कन्स्पीरेसी थ्यौरी अपनायौं र यसमा देशी विदेशी षडयन्त्र देख्यौं । मानौं, भोली केपी ओलीले वाइड बडीमा भ्रष्टाचार गरेको प्रमाण फेला परीहाल्यो र उहाँ जेल जानैपर्ने खण्ड खातिर आइलाग्यो भने पनि नेकपाका कार्यकर्ता त्यो कुरा पत्याउन तयार हुने छैनन् । कन्स्पीरेसी थ्यौरी अनुसार कार्यकर्ताले भन्नेछन्, ‘ओलीलाई फँसाइएको हो, प्रतिक्रान्ति हुन लागेको हो ।’

रवी लामीछानेजस्तो त्यति लोकप्रिय, जनप्रिय, चेलीहरुको उद्धार गर्ने, भ्रष्टहरुको भण्डाफोर गर्ने सच्चा पत्रकारले शालिग्रामलाई आत्महत्यासम्म पुग्ने गरी यातना दिए होलान् भनेर पत्याउन मुस्कीलै पर्छ । यो पनि कन्स्पीरेसी थ्यौरीकै परिणाम हो । लामो समयदेखि आम दर्शको दिमागमा रवीको जुन छवी गडिएर रहेको छ, त्यो छवीसहितको दर्शकको मानसिकताले रवीलाई खराब स्वीकार्नै सक्दैन । त्यसैले त्यो मानसीकताले भन्छ, ‘पक्कै रवीलाई फँसाइएको हुनसक्छ । प्रचण्डको विरोध गरेकाले यो षडयन्त्रमा प्रचण्डहरु नै लागेको हुनसक्छ । अझ, चितवनमै यो घटना भएकाले यसमा रेणु दाहालकै हात हुनसक्छ’ आदि आदि ।

यो सब कन्स्पीरेसी थ्यौरीको प्रभाव हो, जसले हुनै नसक्ने कुरालाई पनि हुनसक्ने देख्छ । यो थ्यौरी यथार्थपरक हुँदैन, तर यथार्थसँग नजिक भएजस्तो भान पार्न खोज्छ र मानिसहरुको दिमाग खलबल्याउँछ । निष्पक्ष छानविन हुँदासम्म पर्खौं, यस्ता कन्स्पीरेसी थ्यौरीको पछि नलागौं ।

(याे सामाग्री कुसुम भट्टराईकाे फेसबुकबाट लिएका हाैं ।)