प्रदेश ३ मा शाक्य र पाण्डेको झगडा, पशुपतिलाई चिठ्ठा

प्रदेश ३ मा शाक्य र पाण्डेको झगडा, पशुपतिलाई चिठ्ठा

काठमाडौं । एमालेको बहुमत रहेको प्रदेश ३ को मुख्यमन्त्रीमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डेबीच भनाभन चर्किएपछि आन्तरिक मतदानका आधारमा निर्णय हुने भएको छ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रदेश ३ को मुख्यमन्त्रीमा अर्का नेता राजेन्द्र पाण्डेले कडा चुनौती दिएपछि भोटिङ हुने अवस्था आएको हो । पार्टीको ‘सिनियर’ नेताका रूपमा रहेकी शाक्यको प्रतिस्पर्धीका रूपमा पार्टी उपाध्यक्षमा पराजित राजेन्द्र पाण्डे देखिएका छन् । मुख्यमन्त्रीको दौडमा नेताहरू पशुपति चौलागाईँ, अरुण नेपाल, सानुकुमार श्रेष्ठ र केशव स्थापितलगायत भए पनि शाक्य र पाण्डेका कारण उनीहरू छायाँमा परेका छन् । तर यी दुईको झगडाले पशुपति चौंलागाईलाई चिठ्ठा पर्न सक्ने विश्लेषण पनि केहीको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समयमा मुख्यमन्त्री हुनकै लागि पाण्डेले गुट परिवर्तन गरे भने शाक्य यथावत् रहिन् । सुरुमा दुवैजना माधव नेपाल पक्षमा थिए । निर्वाचनको सम्मुखमा पाण्डे केपी ओली समूहमा गएका हुन् । माधव नेपाल गुटबाट उपाध्यक्षमा उठेर पराजित भएका पाण्डे अध्यक्ष केपी ओली गुटमा आएर प्रदेश ३ को संसदीय दलको नेता हुने कसरतमा लागेका छन् । प्रदेश ३ मा ओली गुटको पल्लाभारी छ । डोरमणि पौडेल, रामेश्वर फुयाँल, सानुकुमार श्रेष्ठ, केशव स्थापित, चन्द्रबहादुर लामा, बसुन्धरा हुमागाई र सरेश नेपाललगायत ३० जना बढी ओली पक्षधर हुन् भने अरुण नेपाल, पशुपति चौलागाईँ र लक्ष्मण लम्साल नेपाल पक्षधर हुन् ।

कुल ११० सिट रहेको प्रदेश सभामा एमालेले स्पष्ट बहुमतसहित ५८ सिट जितेको छ । पार्टीको संसदीय दलको नेताका लागि अष्टलक्ष्मी र पाण्डेबीच प्रतिस्पर्धा हुने भएपछि पार्टी कित्ता पनि विभाजित भएको छ । तर प्रदेश ३ मा अध्यक्ष ओलीको आशीर्वाद पाउने व्यक्ति नै संसदीय दलको नेता हुने निश्चित छ । ओलीले प्रदेश ५ का शंकर पोखरेलबाहेक अन्यलाई आश्वासन नदिएको बताए पनि चुनावबाटै नेता छान्ने छनक दिइसकेका छन् । मुख्यमन्त्रीका दाबेदार राजेन्द्र पाण्डे पार्टी निर्माणदेखि नै लागेकाले मुख्यमन्त्रीका लागि सबैभन्दा आफू नै योग्य भएको बताउँदै आएका छन् । पाण्डे चारपटक प्रतिनिधिसभाको सांसद, सचेतक, मुख्य सचेतक हुँदै मन्त्रीसम्म भइसकेका छन् ।

स्थानीय निकाय विभागको प्रमुख भएर १० वर्षसम्म काम गरेका छन् । मुख्यमन्त्रीका धेरै जिम्मेवारी छन्, केन्द्रका धेरै काम प्रदेशले गर्न‘पर्नेछ, त्यहाँ जाने महिला, जनजाति, ठाउँ विशेष भनेर होइन, योग्य छ कि छैन, अनुभव र क्षमता कति छ, त्यसको आधारमा जिम्मेवारी दिनुपर्छ भन्ने मान्यताका आधारमा नेपाल पक्षले शाक्यलाई अघि सारेको हो । एमालेले पाएको प्रदेश १, ३, ४ र ५ मध्ये प्रदेश ५ मा शंकर पोखरेललाई सर्वसम्मतिले संसदीय दलको नेता छानेको छ । अन्य प्रदेशमा भने राष्ट्रिय सभाको यही माघ २४ गते हुने निर्वाचनपछि संसदीय दलको नेतृत्वका लागि निर्वाचन हुने जनाइएको छ । प्रदेश सभाको संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले एमालेमा प्रदेश ५ बाहेक अन्य प्रदेशमा धेरै आकांक्षी देखिएका हुन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसकिएका कारण प्रदेश सभाको नेतृत्वका लागि निर्वाचन गर्न‘पर्ने अवस्था आएको हो । २ नम्बर प्रदेशमा पनि संसदीय दलको नेता छान्न एमालेलाई सकस परिरहेको छ । सत्यनारायण मण्डल र शत्रुधन महत्तो दुवैजनाले दाबी गरेपछि अप्ठ्यारो भएको हो । तरुणमा खबर छ ।