साप्ताहिक राशिफल: २०७४ माघ २२ गतेदेखि माघ २७ गतेसम्म (हेर्नुहाेस्)

साप्ताहिक राशिफल: २०७४ माघ २२ गतेदेखि माघ २७ गतेसम्म (हेर्नुहाेस्)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

तर्क, बहस र वादविवादमा संलग्न हुने समय चल्दैछ । साताको प्रारम्भमा सहयोगी हातहरू पछि हट्न सक्छन् । गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । जीवनसाथीसितको सम्बन्धमा नकारात्मकता देखिनसक्छ । सवारी साधनबाटसमेत हानि पुग्नसक्छ । मङ्गलबारपछि दुई दिन फेरि अनुकूल समय नै रहने देखिन्छ । त्यस अवसरमा आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । तर साताको अन्त्य पनि अनुकूल छैन, स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । बोलेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नातेदारले अपमानित तुल्याउन सक्छन् । अतः समग्रमा यो समय चुनौती र परीक्षणका रूपमा देखा परेको छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

साताको प्रारम्भको समय उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन अध्यापन सफल रहेको छ । प्राज्ञिक, बौद्धिक र दार्शनिक गतिविधिमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । उनीहरूबाट आवश्यक सहयोग प्राप्त गर्न सकिने छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । मङ्गलबारपछि स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, पाचनप्रणाली र नसासम्बद्ध रोगले दुःख दिने सम्भावना छ । उता दृष्टिशक्तिमा पनि कमी आउन सक्छ, त्यसैले व्यवहारिक समस्याले अवरोध हुने सम्भावना छ । यद्यपि हरेक दिन बेलुकीपख मन आनन्दका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । साताको अन्त्यमा प्रेमसम्बन्धमा सुधार आउने छ । कामको चाप र दायित्व बढ्नेछ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा समेत बढोत्तरी हुनेछ । अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ । राम्रो समाचार सुन्न पाउनु हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

समग्रमा साताभरि विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । प्रारम्भमा आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । चौथो चन्द्रमाले स्वास्थ्यसम्बद्ध समस्या ल्याउनसक्छ, तर डराई हाल्ने परिस्थिति छैन । मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला । गरेका कामधन्दा र मिहिनेतबाट लाभ हुने सम्भावना छैन । रोकिएको कामधन्दामा प्रगति हुन सक्दैन । तर साताको मध्यभाग अनूकूल रहने छ, घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । ज्ञानगुनका क्षेत्र र पढाइलेखाइमा राम्रै प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने पनि उसले लाभ पाउने छ । तर बिहीबारपछि रिसराग र उत्तेजना बढ्ने समय छ, प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

हाँसखेल र आनन्दमा कमी आउनेछ । उद्योगधन्दा र बन्दव्यापारमा सफलता नै मिल्नेछ । सहयोगीहरूको साथ पाए पनि गर्न खोजेको काममा सफलता प्राप्त गर्न भने धौधौ पर्नेछ । जिम्मेबारी वहन गर्नु पर्ने समय चल्दैछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै समय गएको पत्तो पाउनुहुन्न । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । तर साताको मध्यभागमा घरायसी समस्याका कारण घरबाहिर जानुपर्ने सम्भावना देखिन्छ । कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । यो हप्ता त्यति नराम्रो रहँदैन, ढिलै भए पनि तपार्इंले भने जसरी नै काम सम्पन्न हुनेछ, तर जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

आर्थिक पक्ष सबल छ, राम्रै धनागमको सङ्केत छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने देखिन्छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । पढाइमा प्रगति हुनेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । साताको अन्त्यमा आकस्मिक रूपमा स्वास्थ्यमा सानोतिनो समस्या आउनसक्छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्नेछ । वैदेशिक रोजगारी गर्नेेहरूले घरायसी कुरा सम्झेर समय बिताउने छन् । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । समग्रमा नराम्रो समय छैन, अन्त्यमा साताभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

जे गरे पनि सफलता आर्जन गर्न सकिने सप्ताह छ, त्यसैले दानपुण्यका लागि मन आकर्षित बनाउनु उचित हुनेछ । परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ, अत्तालिनु हुँदैन । उता मन पनि उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम हुनु राम्रो हुन्छ । कर्तव्यपालनाका कारण फुर्सद पाउन गाह्रो हुन्छ । पारिवारिक र घरायसी काममा धेरै समय व्यतीत हुनसक्छ । अध्ययन–अध्यापनको क्षेत्रमा समय निकाल्न सकिंदैन । चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ । साताको मध्यभागमा कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । अन्त्यमा कृषिकार्यतिर मन जानेछ । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । व्यापार गर्नेले पनि सोचेजस्तै लाभ लिन सक्नेछन् । आर्थिक लगानी हुनेछ । समग्रमा उत्तम समय छ, तर प्रयाससाध्य समय छ धैर्यताका साथमा काम गर्नुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

आर्थिक पक्षमा कमजोर समय चल्दैछ, प्रारम्भमा बाचा पूरा गर्न धनको आवश्यकता देखिन सक्छ, उता बन्दव्यापार, श्रममूलक काम, कृषि तथा पशुपालनका क्षेत्रमा पनि सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, आकस्मिक रूपमा अतिथिको आवाभगत गर्नुपर्ने समय पनि हो । दैनिक कामकाजमा खर्च बढ्ने छ । झर्कोलाग्दो यात्राको योग छ । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । तर मङ्गलबारपछिको समय राम्रो छ । काम गर्न जाँगर चल्नेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । आम्दानीमा कमी हुने छैन । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । समयलाई उपयोग गर्नाले राम्रो फाइदा निकाल्न सकिने छ । कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी कमाउने योग छ । समग्रमा साताको उत्तरार्द्धको समय राम्रो छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

कर्मसिद्धिको समय आएको छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । साताको मध्यभागमा आर्थिक सङ्कट ब्यहोर्नु परे पनि समग्रमा राम्रो साता देखिन्छ । इष्टमित्रले प्रशंसा गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यवहारिक रूपमा फाइदा पुग्नेछ । उपलब्धीमूलक यात्रा हुने योग छ । तर मङ्गलबारदेखि बिहीबारसम्म बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योगसमेत छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । घरायसी मामिलामा समय दिन नसक्नाले केही केही धमिलोपन आउन सक्छ । सारांशमा राम्रै समय रहने छ, त्यसैले संयमता र धैर्यतालाई त्याग्नु हुँदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

कर्मक्षेत्रमा रहेको चन्द्रमाका साथमा साताको प्रारम्भ हुँदैछ, त्यसैले व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । काम गर्दा कुनै दुविधा भएमा जान्नेबुझ्ने वा अनुभवीको राय लिनु पर्छ, सफलता मिल्नेछ । आम्दानीमा कमी आउने छैन । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने समय हो । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । तर बिहीबारपछि धनको अभाव हुनसक्छ, सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ । खर्चबर्चको समस्या भइराखेको समयमा भोगविलासका क्षेत्रमा वा शृङ्गारिक सामाग्री खरिद गर्ने बाध्यता हुनेछ । अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

भाग्यस्थानमा रहेको चन्द्रमाका साथमा प्रारम्भ हुने भएकाले निराश भइहाल्नु पर्ने साता छैन । कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । तर धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने भएकाले त्यसतर्फ आकर्षित हुनु राम्रो हुनेछ । रोकिएको काम बनेको समाचार सुन्न पाइने सम्भावना छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ । आमाबुवाको स्वास्थ्यमा सुधार आउने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । समाजमा बुद्धिको प्रशंसा हुनेछ । घरपरिवार र नातेदारमा सुमधुर सम्बन्ध कायम हुनेछ । समग्रतामा यो साता भेटघाट र मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

सुरुमा आठौं चन्द्रमा रहेकाले अनुकूल समय छैन, ढिलो गरी कार्यसम्पादन हुने समय छ । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । लेनदेनमा विवाद हुनेछ । व्यवहारिक हानी हुनेछ होस राखेर अघि बढ्ने समय हो । तर मङ्गलबारपछिको समय अनुकूल नै हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अप्रत्याशित काम बन्ने योग छ । पारिवारिक जीवन सामान्य रहने छ । इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । साताको अन्त्यमा पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने समय छ । धैर्य र संयम भएमा राम्रै परिणाम पाइने समय छ, तर खानपान, आहारविहार र दुर्घटनाप्रति सचेत हुनु जाति हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

मिश्रित प्रभाव भएको समय छ । साताको प्रारम्भमा प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । मङ्गलबारपछि दुई दिन अनुकूल रहने छैन । स्वास्थ्यपक्ष कमजोर छ, खासगरी पाचन प्रणालीमा आएको खराबीले तपाईंलाई निराश तुल्याउन सक्छ । पारिवारिक र व्यवहारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ । तर साताको अन्त्य अनुकूल रहने छ, हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । कतिपय राम्रा अवसर प्राप्त गर्नुहुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । समग्रमा निराशाका बीचमा मन भुलाउने उपायको प्राप्ति हुने समय रहने छ ।