प्रदेश २, ५, ६ र ७ को पहिलो बैठक आज बस्दै

प्रदेश २, ५, ६ र ७ को पहिलो बैठक आज बस्दै

काठमाडौं । आइतबार चारवटा प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्दैछ । प्रदेश २, ५, ६ र ७ को पहिलो प्रदेशसभा बैठक आज बस्दै छ । प्रदेश २ को जनकपुरधाम, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो ।

प्रदेश १ र ४ को बैठक सोमबार तय भएको छ । प्रदेश ३ को बैठक भने १८ माघमै सम्पन्न भइसकेको छ ।

आइतबार पहिलो बैठक हुने चारै प्रदेशमा तयारी पूरा भएको छ । नयाँ संविधान अनुसार संघीय संरचनामा गएको नेपालको पहिलो संघीय संरचना अन्तर्गतको प्रदेश नम्बर २ को संसदको बैठक अस्थायी राजधानी जनकपुरमा बस्दैछ ।

जनकपुर उपमहानगरपालिका १२ मा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा प्रदेशसभाको पहिलो बैठक बस्दैछ । प्रदेश नम्बर २ मा एक सय ७ जना प्रदेशसभा सदस्य छन् ।

यस्तै प्रदेश नम्बर ५ मा पनि आइतबार प्रदेशसभाको पहिलो बैठक बस्दैछ । संघीय संरचनाअनुसारको प्रदेशसभा अन्तर्गत प्रदेश नं ५ को संसद सचिवालय रहेको बुटवल उद्योग बाणिज्य संघको सभाहलमा बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।

यसैगरी प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभाको बैठकको तयारी पूरा भएको छ । प्रदेशसभा सदस्यहरुमध्ये जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले तीन वटा विषयको सूची तयार गरेको छ ।

प्रदेशसभाको पहिलो बैठकमा सभामुख चयनका लागि मिति तय हुनेछ । यस्तै बैठक सञ्चालनका लागि आवश्यक कार्यविधीबारे पनि पहिलो बैठकमा छलफल हुने सचिवालयले जानकारी दिएको छ । दिउँसो एक बजेदेखि प्रदेशसभाको बैठक बस्नेछ ।

यस्तै प्रदेश नम्बर सातमा पनि आइतबार नै प्रदेशसभाको पहिलो बैठक बस्दैछ । अस्थायी राजधानी धनगढीमा बैठक बस्नेछ ।