भीमसेन थापाको उदय (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५)

भीमसेन थापाको उदय (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५)

भीमसेन थापा (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका हजुरिया (शाही सचिव तथा सल्लाहकार) भएपछि भीमसेन थापाको उदय भएको हो ।

सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारतको वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए । यसै कृतज्ञताका कारण, रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री सरहको पद) को पदमा नियुक्त गरे । सन् १८०६ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाइ शेरबहादुर शाहद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार (प्रधानमन्त्री सरहको पद) बने ।

भीमसेन थापाको प्रधानमन्त्रीकालमा नेपाल साम्राज्यको निक्कै विस्तार भएको थियो । यसको प्रमाण यसबाट लगाउन सकिन्छ कि त्यस समयमा यस साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो । तर, सन् १८१४-१८१६ सम्म नेपाल विनाशकारी अङ्ग्रेज-नेपाल युद्धमा फस्यो, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो । यस युद्धमा पराजयकै कारण नेपालमा ब्रिटिश रेसिडेन्सीको स्थायित्व कायम भएको थियो ।

सन् १८१६ मा युवावस्थामै राजा गीर्वाणयुद्ध विक्रम शाहको मृत्यु तथा उनको उत्तराधिकारी राजा राजेन्द्र विक्रम शाह सानै भएको कारण तथा रानी ललित त्रिपुरा सुन्दरी (रणबहादुर शाहकी कान्छी श्रीमती) तथा केही दरबारियाको समर्थनकै कारण नेपाल अङ्ग्रेज युद्धमा हार भएता पनि भीमसेन थापा शक्तिमै रहेका थिए ।

सन् १८३२ मा उनको ठुलो समर्थक रानी ललित त्रिपुरा सुन्दरीको मृत्य तथा राजा राजेन्द्र विक्रम शाह युवावस्थामा पुगेपछि भीमसेन थापाको शक्ति स्थिर भएको थियो । मुख्यतया पाण्डेहरू भीमसेन थापालाई दामोदर पाण्डेको सन् १८०४ मा भएको हत्याको योजनाकार मान्दथे । अनेक षड्यन्त्र र विरोधी दरबारियाहरूको गतिविधिका कारण अन्तत: भीमसेन थापा सन् १८३९ मा जेल हालिए र उनले त्यहिँ आत्महत्या गरे । तर, उनको मृत्यु पश्चात पनि आन्तरिक कलह शान्त भएन र सोको फलस्वरूप राणा शासनकालको उदय भयो ।

बाल्यकाल

भीमसेन थापाको जन्म वि.सं. १८३२ नौ गतेका दिन गोरखाको बोर्लाङको पीपल थोक गाउँमा बगाले थापा क्षेत्री परिवारमा भएको थियो। अमरसिंह थापा (सानुकाजी) र सत्यरूपा मायाका जेठा छोरा थिए। उनका हजुरबुवा नेपाल एकीकरणकालका काजी वीरभद्र थापा थिए । उनी बगाले थापा क्षत्री कुलका थिए। उनका भाइहरू सहोदरमा नैनसिंह थापा, अमृतसिंह थापा, बख्तावर सिंह थापा, रणवीर सिंह थापा तथा सौतेनीमा रणजावर सिंह थापा र रणबम सिंह थापा थिए । ब्रतबन्धको क्रममा सर्वप्रथम भीमसेन थापाको भेट युवराज रणबहादुर शाहसँग भएको थियो । त्यसबेला उनको उमेर १० बर्षको थियो। एकै उमेरमा शाह र थापाको मित्रताको आधारमा त्यसै बेलामा तयार भएको हो। उनको बाल्यकाल गोर्खामा निकै सुखमय रुपमा बितेको थियो । उनको पढाइको व्यवस्था त्यस बेलाको परिस्थिति अनुरुप मिलाइएको थियो।

शक्ति उदय: १७९८-१८०४
पृथ्वी नारायण शाहको जेठो छोरा प्रतापसिंह शाह (शासनकाल १७७५-१७७७)को अल्पमृत्युको कारण प्रगतिको पथमा रहेको नेपाल राज्य तथा विशाल सत्ता रिक्त हुन् पुग्यो । प्रताप सिंह शाहको मृत्यु हुँदा उनको उत्तराधिकारी छोरा, रणबहादुर शाह (शासनकाल १७७७-१७९९) मात्रै २ वर्ष ६ महिनाका थिए । सन् १७८५ सम्म रानी राजेन्द्रलक्ष्मी कार्यकारी राज-प्रतिनिधि भएर राज्यसत्ताको काम सम्भालेकी थिइन् पछि पृथ्वीनारायण शाहको दोस्रो छोरा बहादुर शाह (शासनकाल १७८५-१७९४)ले राज्यसत्ता सम्भाले । राष्ट्रिय प्रशासनको मुद्दालाई प्रमुख नबनाएर दरबारिया विरोधीहरूले यी दुई राज्य-प्रतिनिधिहरूको शाही जीवनलाई मुद्दा बनाए जसको कारण भविष्यमा हुने राज्य प्रतिनिधिको दौडको लागि एक खराब परम्पराको जग बसाल्न पुग्यो । सन् १७८८-१७९२ मा नेपाल- चीन बिचको युद्धको अनिवार्यताको कारण बहादुर शाहलाई ब्रिटिशको सहयोग माग्नु परेको थियो, जसको कारण सन् १७९२ मा अङ्ग्रेजहरूसँग एक व्यावसायिक सन्धि गर्नु परेको थियो ।

यसै बीच, रणबहादुर शाहको युवावस्था स्नेहको निमित्त विलासितामा खर्च भएको थियो । सन् १७९४ मा रण बहादुरको उमेर पुगेपछि उनले सर्वप्रथम आफ्नो काका बहादुर शाहलाई सबै सरकारी पदबाट हटाउनुको साथै सरकारलाई पुन:गठित गरे । सन् १७९५ को मध्यमा उनी एक मैथिल ब्राह्मण विधवा कान्तवती झा माथि मन्त्रमुग्ध भए र उसँग विवाह गर्न आतुर रणबहादुरले आफ्नो पछिल्लो विवाहबाट भएको प्रत्यक्ष सन्तानलाई उत्तराधिकारी नबनाई कान्तवतीलाई उनको आधा जातिको छोरा (त्यस समयको हिन्दू कानुन अनुसार)लाई उत्तराधिकारी बनाउने वाचा गरेर विवाह गरे । सन् १७९७ मा, उनले आफ्नो काका जुन एक सेवानिवृत्त जीवन बाँचिरहेका थिए र चीनका नयाँ सम्राटसँग बैठकको बहानामा चीनमा सरणार्थी जीवन बिताउन खोजिरहेका थिए लाई सन् १९७९ फेब्रुअरी १९ मा जेलमा कैद गरे र २३ जुन १७९७ मा उनको हत्या गरे । यस काण्डका कारण रणबहादुर शाह दरबारिया तथा आम जनमानस विशेष गरी ब्राह्मणहरू तथा वैद्यहरूमा कुख्यात बन्ने पुगे ।

वाराणसी निर्वासन: १८००-१८०४
वाराणसीको बसाईको समय उनले बेलायती साम्राज्यको नजिकबाट अध्ययन गरे । बेलायती नीति फुट र शासन (Divide and Rule) अनुसार अङ्ग्रेजले भारतिय राज्यहरू हडपेको तथ्य बुझे । अङ्ग्रेजहरू सर्वप्रथम व्यापार गर्ने बहाना राज्यमा सरण माग्ने र राज्यको सम्पूर्ण ज्ञान प्राप्त गरेपछि आक्रमण गर्दा भारत अङ्ग्रेजको दास भन्न पुगेको तथ्य थाहा पाए । तर राजा रणबहादुर विलासमा चुर थिए र एक बनारसी साहुको थुप्रो ऋण लिई नितर्दा देशकै बदनाम भएको थिए । भीमसेन भने अङ्ग्रेजबारे जानकारी चाहार्दै हिँडेका थिए । उक्त समयमा मुलकाजी दामोदर पाण्डे अङ्ग्रेजबारे सम्भवतः अनविज्ञ भई वाणिज्य सन्धि गर्दै थिए । भीमसेनले जानकारी प्राप्त गरेपश्चात वाणिज्य सन्धि खारेज गर्न नेपाल अविलम्ब पुग्नुपर्ने स्थिति देखे ।

उपलब्धि
राजा रणबहादुर शाहसँग नेपाल फर्केपछि उनी पहिले नेपालका मन्त्री र पछि प्रधानमन्त्री भए । त्यस पछि उनले ३१ वर्ष सम्म ६ राजाहरूको अन्तर्गत प्रधानमन्त्रीको रूपमा काम गरे । उनका सहयोगी (डेप्युटी) काजी रणध्वज थापा थिए । उनले सन् १८१६ मा इस्ट इन्डिया कम्पनी विरूद्ध युद्धको घोषणा गरे । विभिन्न कारणहरूले गर्दा त्यस युद्धमा नेपालको हार भयो । युद्धपछि पनि उनले १३ वर्ष सम्म शासन गरे । त्यस बेलामा उनले थुप्रै सैनिक, कानुनी, सामाजिक तथा आर्थिक सुधारहरू गरे । सैनिकलाई युरोपेली शैलीमा आधुनिकिकरण गरियो । थुप्रै समाजिक कुरितीहरू हटाइयो । सार्वजनिक प्रशासनमा सुधारहरू गरे। धरहरा, सुन्धारा, बागदरवार, टेकु पुल, थापाथली पुल आदि निर्माण गराए । विश्वका विभिन्न भागमा प्रभुत्व बढाउदै गएको बेलायती साम्राज्यवादको विरूद्ध लड्न एसियाली जनएकताको आहृवान गर्ने उनी निकै दूरदर्शी कूटनीतिज्ञ पनि थिए । महान् पूर्वजहरूले शुरू गरेको नेपाल एकीकरणलाई अगाडि बढाएर भीमसेनले नेपालको सीमालाई चारैतिर बढाए । सन् १८६२ मा काजी र त्यसपछी मूलकाजी र जनरल भएका भीमसेन थापाले साम्राज्यवाद विरुद्ध अनवरत सङ्घर्ष गरेर नेपालको सिमाना सतलजसम्म पुर्‍याएका थिए भने यिनकै पालामा पाल्पालाई नेपालमा गाभिएको थियो । सेनाको आधुनिकीकरण, राहदानी प्रथाको सुरूवात, अनेकौं सामाजिक सुधार र विकास निर्माणको कार्य गर्न लगाए ।

सामाजिक सुधार
-कमारा कमारी राख्न नपाउने व्यवस्था,
-नेवारहरूको चाडमा खर्चको सिमा तोक्ने काम,
-नाप तौलमा सुधार र व्याजदरमा निर्धारण गर्ने काम,
-हुलाकको व्यवस्था,
-विवाह प्रथामा सुधार जस्तै सानिमा बेहोर्ने प्रथा र
-जग्गालाई हले, पाटे, कोदालेको आधारमा अभिलेख राख्ने व्यवस्था ।

प्रशासनिक सुधार
-घुस लिन नपाउने व्यवस्था,
-राहदानी वितरणको व्यवस्था,
-सेना, जर्नेल, कर्नेल, क्याप्टन आदि पदको सिर्जना,
-सेना, प्रहरीलाई आधुनिक प्रसिक्षण दिने व्यवस्था र
-छाउनी र ब्यारेकको व्यवस्था

मृत्यु
वि.सं. १८९४ असार ५ गते भिमसेन थापाबाट फौजी तैनाथी खोसियो भने अर्को महिना उनलाई पदबाट हटाइएको थियो । थापालाई पदच्युत गरिएपछि पाँडे समूहका नाइके रणजङ्ग पाण्डेले मुलुकको शासन व्यवस्थामा प्रभाव पार्न लागे । भारदारहरूबीचको गुटबन्दी र दरबारिया षड्यन्त्रमा परेर उनलाई जेलनेलसहित अनेकौ यातना दिई थुनामा राखियो । वि. सं. १८७१/७२ मा अङ्ग्रेजसँगको युद्धमा पराजित र १८७३ मा भएको सुगौली सन्धी पश्चात तथा १८९४ मा राजकुमार देबेन्द्रको हत्याको अभियोग तथा दरवारिया षड्यन्त्रले गर्दा आफ्नो अपमान सहन नसकी भीमसेनले अन्ततः वि.सं. १८९६ मा आत्महत्या गरे । उनका विरोधीहरू पाण्डे तथा बस्न्यातहरूका कारण उनले पदत्याग गरेका हुन् । भीमसेन थापा प्रधानमन्त्री जङ्गबहादुर राणाको आमा पट्टिको हजुरबुबा थिए । आफ्नो हजुरबुबाको मृत्युको बदला उनले लिएर नेपालमा राणा शासनको सुरूवात गरे ।