काठमाडौं , १२ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) तहको नतिजा सार्वजनिक भएको छ। यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी थिए । यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।
त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षार्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीकाअनुसार परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने छ ।
२०७५ चैत १० गतेदेखि २१ सम्म परीक्षा सञ्चालन भएको थियो । देशभर कुल परीक्षा केन्द्र १९६९ तोकिएको थियो। नतिजाका लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सक्नेछन् । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।
यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।