आकाशमा ग्रहण लागेको बेला के गर्ने, के नगर्ने ?

आकाशमा ग्रहण लागेको बेला के गर्ने, के नगर्ने ?

काठमाडौँ- आकाशमा चन्द्रग्रहण लागिसकेको छ। आकाश खुला छ भने रातो चन्द्रमा देख्न सक्नुहुन्छ। चन्द्रग्रहणमा के गर्नुहुन्छ वा के गर्नुहुँदैन त? शास्त्रका अनुसार ग्रहणका समयमा सुत्नु वा पल्टिनु हुन्न। ग्रहणअघि नुहाइधुवाइ गरेर स्वच्छ र पवित्र बन्नुपर्छ। यस समय गरिएको ध्यान, पूजा, उपासना र मन्त्रजप विशेष उपयोगी हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ।

ज्योतिषशास्त्रका अनुसार ग्रहणका क्रममा ब्रम्हाण्डमा ऊर्जाको कमी हुने भएका कारण जो कोही प्रभावित हुनसक्छ। यस्तो समयमा सबैले सावधानी अपनाउनै पर्छ। निरोगी मानिसले ग्रहणकालमा खानु हुँदैन। गर्भवती महिलाले त ग्रहणकालमा विशेष सावधानी अपनाउनुपर्छ। घरबाट बाहिर निस्कनु हुँदैन। यद्पि बिरामी, बालबालिका र बृद्धबृद्धाले भने ग्रहणकालमा खान सक्नेछन्।

शास्त्रका अनुसार भगवानको भजनकिर्तन गर्नुपर्छ। मनमा कुनै पनि प्रकारको शंकाउपशंका राख्नुहुँदैन। ग्रहणकालअघि बनेको भोजनमा शुद्धिका लागि तुलसीका केही पात राख्नसकिने शास्त्रमा उल्लेख छ।

मनको स्वामी चन्द्रमा हुने भएको र यस समय चन्द्रमा प्रभावित हुने भएकाले मनमा चन्द्रग्रहणका समयमा नकारात्मक प्रभाव पर्नसक्नेछ। भगवान शिवको विशेष ध्यान यस समय गर्दा नकारात्मक ऊर्जा मेटिने पनि शास्त्रमा उल्लेख छ।

ग्रहण सकिएपछि नुहाउनुपर्छ। नुहाउन नसक्दा हातमुख धोएर अर्को कपडा लगाउँदा हुन्छ। ग्रहणकै रात वा भोलिपल्ट बिहान गरिबदुखीलाई दान दिनु पनि राम्रो हुने शास्त्रमा उल्लेख छ। नेपालमा बुधबार साँझ ६ बजेर ३६ मिनेटदेखि ९ बजेर ५३ मिनेटसम्म ग्रहणकाल रहेको छ।