पूर्व श्री ५ संग भारतीय प्रधानमन्त्रीको भेट !

पूर्व श्री ५ संग भारतीय प्रधानमन्त्रीको भेट !

काठमाडौं । आगामी साता भारत भ्रमणमा जान लागेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटसमेत गर्ने बुझिएको छ । समाचार स्रोतका अनुसार पूर्वराजा शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाटको  कार्यक्रमसमेत तय भएको छ । मोदीसँग हुने भेटघाट आफ्ना लागि निकै फलदायी हुनेमा पूर्वराजा शाह आशावादी छन् ।
स्रोतका अनुसार गत पुसमै पश्चिम नेपाल भ्रमणमा रहेका पूर्वराजा शाहले मोदीलाई भेट्ने इच्छा राखेका थिए, तर समय मिलेन । त्यसबेला उनले लखनउ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेका थिए । पूर्वराजा शाहलाई भेट्नुअघि पनि र भेटघाटपछि पनि मुख्यमन्त्री योगीले प्रधानमन्त्री मोदीलाई जानकारी गराएका थिए । योगीकै मध्यस्थतामा पूर्वराजा शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भेटघाट हुने कार्यक्रम तय भएको समाचार स्रोतको दाबी छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगीका सहयोगीहरू यतिबेला पूर्वराजा शाहको भारत भ्रमणको कार्यक्रम तय गर्न नेपाल आएका छन् । उनी भारतमा एक हप्ता रहने कार्यक्रम तय भएको छ ।
नेपाललाई हिन्दु राज्य कसरी बनाउन सकिन्छ भन्नेमा पहल गर्न पूर्वराजाले विशेष चासो देखाएको बताइए पनि भित्री मक्सद भनेको नेपालमा अस्थिरता र अराजकता सिर्जना गरी राजसंस्था पुनर्बहालीको वातावरण बनाउनु नै रहेको समाचार स्रोतको दाबी छ । स्रोतका अनुसार हिन्दु राज्य पुनस्र्थापना सम्भव भए नभएको विषयमा भारतीय प्रधानमन्त्री मोदीले  केही दिनअघि एमालेका अध्यक्ष खड्ग ओलीलाई टेलिफोन गरेरै सोधेका थिए । यस विषयमा ओलीले सकारात्मक जवाफ दिएको स्रोतको दाबी छ ।  मोदीलाई ओलीले सकारात्मक जवाफ दिएलगत्तै भारतीय हिन्दुवादीहरूको टिम नेपाल आएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका विशेष सहयोगी एवं देवीपाटन मन्दिर, बलरामपुर तुलसीपुरका महन्थ मिथिलेश नाथ महाराजसहितको तीन सदस्यीय टोली यतिबेला काठमाडौंमा  छ । उक्त टोलीमा योगी विनोद नाथ र योगी दीनानाथ पनि सहभागी छन् । तरुणमा खबर छ ।