आफ्नो श्रीमान् सँग डिभोर्स गर्ने नेपाली नायिकाको सूची लामो छ । यस्तो सूचीमा थपिएकी छन् नायिका रिमा विश्वकर्मा । दुई वर्षअघि रिमाले भव्य समारोहका बीच बेलायतनिवासी रोबर्ट विश्वकर्मासँग बिहे गरेकी थिइन् । बिहेपछि रिमा नेपालमै र रोबर्ट बेलायतमा बस्दै आएका थिए । सम्भवतः टाढा बसेकाले होला, दुईबीच आत्मीयता गाढा हुनै पाएन । त्यसैले उनीहरूको सम्बन्ध डिभोर्समा पुगेर टुंगिएको छ ।
रोबर्टले मोरङकी वर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक भएसँगै रिमाको डिभोर्सको पुष्टि भएको हो । जबकि, उनीहरूको डिभोर्स तीन हप्ताअघि नै भएको थियो । रिमाले उक्त कुरालाई गोप्य राख्दै आएकी थिइन् । मिडियाबाट धेरैले सम्पर्क राख्ने प्रयास गरेपछि रिमा आफैँले आफ्नो डिभोर्ससँग सम्बन्धित स्टाटस फेसबुकमा लेखिन् । उनले तत्काल व्यक्तिगत सम्बन्धबारे प्रश्न नगर्न अनुरोध गरेकी छन् ।
‘म अनि मेरो परिवारका लागि यो त्यति सजिलो समय होइन । तर पनि मलाई सद्भाव प्रकट गर्ने मेरा मिडियाका साथीहरू, शुभेच्छुकहरू अनि मेरा आफन्तहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । अहिले कुनै पनि प्रश्नको उत्तर दिन असमर्थ छु । यतिवेला मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनुहुनेछ र म अनि मेरो परिवारका लागि केही समय दिनुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ,’ उनले लेखेकी छन् । साथै उनले आफूले यस्तो दिनको कल्पना नगरेको बताएकी छन् । आफ्नो जीवनमा घटेको यो घटनाले आफ्नो करियरमा असर गर्न नदिने रिमाको भनाइ छ ।