तरुण दलको तीन दिने प्रशिक्षण

तरुण दलको तीन दिने प्रशिक्षण

काठमाडौं । नेपाल तरुण दल संगठन सुदृढीकरण अभियानमा लागेको छ । महाधिवेशन सम्पन्न भएको एक वर्षसम्म कार्यसमितिले पूर्णता नपाएकोमा आलोचना भैरहेका बेला अध्यक्ष जितजंग बस्नेतले भक्तपुरको नगरकोटमा शाखा सभापतिहरूको तिन दिने भेला बोलाएका छन् । जिल्ला सभापतिहरूलाई आगामी रणनीति र वर्तमान राजनीतिक स्थितिबारे प्रशिक्षण दिइने अध्यक्ष बस्नेतले बताएका छन् । माघ २८ देखि फागुन १ गतेसम्म चल्ने तीन दिने प्रशिक्षण कार्यक्रमको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।
प्रशिक्षणमा समसामयिक राजनीतिक समिक्षा, तरुण दलको संरचनागत संगठन तथा भावी रणनीतिलगायतका विषयमा छलफल हुनेछ । कार्यक्रममा सबै जिल्ला शाखा तथा वैदेशिक शाखाका अध्यक्षहरूलाई अनिवार्य उपस्थितिका लागि परिपत्र गरिएको अध्यक्ष बस्नेतले बताएका छन् । तीनै तहको चुनावमा पार्टीले बेहोरेको हारको विषयमा पनि छलफल हुने अध्यक्ष बस्नेतले जानकारी दिए । चुनावपछि देश नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा तरुणहरूलाई थप एकताबद्ध र संगठनलाई सुदृढ बनाउन प्रशिक्षण आवश्यक भएको उनले बताए । प्रशिक्षणमा पार्टीका नेता तथा अन्य बुद्धिजीवीहरूले प्रशिक्षण दिनेछन् ।
तरुण दलको कार्यसमिति विस्तारका लागि सभापति देउवासँग पुनः आह्वान गरिने बस्नेतले जानकारी दिए । एक वर्षअघि पोखरामा सम्पन्न महाधिवेशनयता तरुण दलमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष गरी चार पदाधिकारी मात्र छन् । महाधिवेशनले बस्नेतलाई अध्यक्ष, उत्तम चापागाई उपाध्यक्ष, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई चयन गरेको थियो ।
महाधिवेशनलगत्तै पार्टीले एक महिनाभित्र तरुण दलको कार्यसमितिलाई पूर्णता दिने जनाएको थियो । तर, कार्यसमिति विस्तार नभएकैले मुलुकमा सम्पन्न तीनै तहको निर्वाचनमा तरुण दल प्रभावकारी ढंगले परिचालित हुन नपाएको  कांग्रेस नेताहरुले नै बताउने गरेका छन् । ‘मैले अध्यक्ष हुनेवित्तिकै कार्यसमिति विस्तारका लागि पार्टी नेतृत्वसँग आग्रह गर्दै आएको हुँ, तर अहिलेसम्म पूर्णता पाउन सकेको छैन, नगरकोट भेलापछि तरुण दल सशक्त ढंगले अघि बढ्नेछ,’ बस्नेतले भने । महाधिवेशनपछि तरुण दललाई जुन ढंगले सशक्त बनाएर लैजाने आफ्नो सोच थियो, त्यो पार्टी भित्र देखिएको समुहगत समस्यका कारण हुन नसकेको तरुण दलका एक नेताले बताए ।