यसरी मिल्यो मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागबण्डा (को कहाँ हेर्नुहोस्)

यसरी मिल्यो मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागबण्डा (को कहाँ हेर्नुहोस्)

काठमाडौं । एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिलाएको छ। आइतबार बसेको कार्यदल बैठकले मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागबण्डा मिलाएको हो।

कार्यदलका संयोजक सुवास नेम्वाङका अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले पाएको छ भने ६ र ७ को मुख्यमन्त्री माओवादीलाई दिइएको छ।

त्यसैगरी प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को समाभुख माओवादीको भागमा परेको छ। सँगै प्रदेश ४ र ५ को उपसभामुख एमालेले पाउने भएको छ भने १, ३, ६ र ७ को उपसभामुख माओवादीले पाएको छ।

एमाले र माओवादीबीच प्रदेश सरकारमा ११ जनासम्म मन्त्री बनाउने सहमति भएको छ। मन्त्रीको भागबण्डा भने ७० र ३० प्रतिशतमा हुने भएको छ।

एमालेले ७० प्रतिशत मन्त्री पाउने छ भने माओवादीकले ३० प्रतिशत मन्त्री पाउने छ। मन्त्रिपरिषद् गठनका सम्बन्धमा भएको छलफलमा सातदेखि ११ जनासम्म मात्र मन्त्री बनाउने सहमति भएको छ ।