प्रदेश २ बाट राष्ट्रियसभामा मतदान नहुने, सबै आठजना निर्विरोध

प्रदेश २ बाट राष्ट्रियसभामा मतदान नहुने, सबै आठजना निर्विरोध

जनकपुरधाम । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नम्बर २ बाट ८ जना उम्मेवार निर्विरोध चयन भएका छन् ।

माघ १० गते भएको मनोनयन दर्ताको क्रममा राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नम्बर २ बाट ८ पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये ४ जना यसअघि नै विजयी भइसकेका छन् ।

खुल्लामा मात्रै प्रतिस्पर्धा रहेको प्रदेश दुईको राष्ट्रिय सभा सदस्य पदमा संघीय समाजवादी पार्टीका उम्मेदवार मोहम्मद अख्तर हुसैनले आइतबार उम्मेदवारी फिर्ता लिएपछि सबैजना निर्विरोध भएका हुन् ।

खुल्लामा राजपाबाट रमेश प्रसाद यादव, नेपाली कांग्रेसबाट जितेन्द्र नारायण देव, नेकपा एमालेबाट सुमनराज प्याकुरेलले र संघीय समाजवादी पार्टीबाट मोहम्मद अख्तर हुसैन प्रतिस्पर्धामा थिए ।

यसअघि राजपाबाट अल्पसंख्यक कोटामा वृषेशचन्द्र लाल, नेपाली कांग्रेसकी मुक्ता यादव महिलाकोटामा, महिला कोटाबाटै माओवादी केन्द्रकी शशिकला दाहाल र संघीय समाजवादी फोरम नेपालबाट दलित कोटामा रामप्रित पासवान निर्विरोध निर्वा्चित भएका थिए ।

यद्यपि उनीहरु निर्वाचित भइसकेको औपचारिक घोषणा भने माघ २४ गतेको साँझ मात्रै गरिने प्रदेश नम्बर २ का मुख्य निर्वाचन राधाकृष्ण उप्रेतीले जानकारी दिएका छन् । ८ जना राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेश नम्बर २मा ३ सय ७९ जना मतदाता रहेका छन् ।