प्रमुख पर्यटकीय केन्द्र ठमेलमा खुल्ला चुरोटको बिगबिगी

प्रमुख पर्यटकीय केन्द्र ठमेलमा खुल्ला चुरोटको बिगबिगी

-बिमन लिम्बू-

नेपालकै प्रमुख पर्यटकीय केन्द्र ठमेलमा विगत केही समयदेखि नाङ्लो पसल थापेर खुल्ला चुरोट (गाँजा समेत) बेच्नेहरुको बिगबिगी बढेको छ । एउटा सरकार जादै र अर्को सरकार गठन भइ नसकेको संक्रमण कालले गर्दा पनि यस्ता अवान्छित गतिविधि फस्टाएको र सम्बन्धित प्राशासनिक निकायहरु मौन बसेको हुनसक्छ ।

 

 

भाडा तिर्न नपर्ने भएकोले अन्य पेशा/जागीर छाडेर नाङ्लामा चुरोटका बट्टा र खिल्ली बेच्नेतर्फ धेरै मानिसहरू लागेका छन् । यसरी फूटपाथमा व्यापार गर्नेहरू बजारलाई फोहोर मात्रै पारेका छैनन् जबरजस्ती पानी बेच्न खोजेर पर्यटकलाई समेत हैरान पार्न थालेका छन् । ठमेलमा वातावरणीय स्वच्छताका लागि सवारी साधन निषेध गरिएको छ तर खुल्ला रूपमा चुरोट बेच्ने र खाने प्रवृत्तिले फेरि वातावरण अस्वस्थकर भै सासै फेर्न गाह्रो भैरहेको छ । कतिपय मानिसलाई त यो धुवाँले छातीको समस्या समेत देखिन थालेको छ । केही मानिसहरूले बिधालय जाने उमेरका वालवालिकालाई समेत चुरोट र पानी वेच्न लगाएर “खाते” वनाईरहेका छन् यस्ता खातेहरुले पर्यटकलाई जथाभावी बोल्ने र दुर्व्यवहार समेत गर्ने गरेका छन् ।

 

पर्यटनको विकासको लागि खोलिएको संघ संस्था र समितिहरु एक आपसमा दोषारोपण गर्दा ध्यान यतातिर जान फुर्सद नभएको देखिन्छ । भाडा नतिरी सडकमा गरिने यस्ता व्यापारले नेपालको पर्यटन उद्योगलाई कता लैजाला ? विदेशी/स्वदेशी पर्यटकहरू आनन्द पो लिन आएका हुन् त । यस्ता फोहोर अवस्था र दुर्व्यवहारले के फेरि उनीहरू फर्केलान ? विदेशमा कस्तो सन्देश जाला? खुल्ला चुरोट वेच्न नपाइने र सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाईने कानून भएपनि खिल्ली बेच्न पल्केकाहरुले कानूनलाई नै खिल्ली उडाइ रहेका छन् ।