प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

काठमाडौं । तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन् ।

प्रदेश सरकारका लागि गठजोडमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाले पदीय भागबण्डाका विषयमा अनौपचारिक रुपमा केही खाका तयार पारे पनि त्यसलाई मूर्तरुप भने दिन सकेका छैनन् ।

मुख्यमन्त्री, सभामुखलगायतका पद बाँडफाँडबारे छलफल चलिरहेको तर ठोस सहमतिमा पुग्न नसकेको ती दलका नेताहरु बताउँछन् ।

दुवै दलले आगामी माघ २१ गते बोलाइएको प्रदेशसभा बैठकलगत्तै सरकार गठनको प्रक्रिया शुरु गर्ने जनाएका छन् । समानुपातिकतर्फको प्रदेश सांसदको निर्वाचन परिणाम आइसकेपछि सरकार गठनबारे अनौपचारिक छलफलमा दुवै दल जुटेका छन् ।

प्रदेशसभा बैठकलगत्तै मुख्यमन्त्री, सभामुख चयनलगायतका प्रक्रिया अघि बढ्ने राष्ट्रिय जनता पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए ।

“प्रदेश सांसदको निर्वाचन परिणाम घोषणा भएपछि प्रदेश सरकार गठनबारे औपचारिक छलफल त भएको छैन तर आगामी प्रदेश बैठकपछि सरकार गठनको रफ्तार शुरु हुन्छ,”– उनले भने ।

संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सांसदको निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्ने छ । निर्वाचन आयोगले गत माघ ३ गते प्रदेशसभाका समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेको थियो ।

कुल १०७ सिट संख्या रहेको प्रदेश नम्बर २ मा राजपा फोरमको बहुमत छ । समाजवादी फोरमको २९ र राजपाको २५ सिट छ । यीमध्ये कुन दलले कस्तो जिम्मेवारी लिनेभन्नेमा दुवै दलमा भागबण्डा शुरु भएको छ ।

कुन दलले के जिम्मेवारी लिने भन्ने पदीय भागबण्डापछि मात्र सरकार गठनको प्रक्रिया शुरु हुने समाजवादी फोरमका नेता शिवजी यादवले बताए । उनका अनुसार सिट संख्याका आधारमा फोरमले मुख्यमन्त्री र राजपाले सभामुख पाउने लगभग पक्का छ, अन्य पदमा भने छलफल चलिरहेको छ ।

प्रदेश बैठकपछि सरकार गठनको प्रक्रिया शुरु हुने हुँदा सो अवधिसम्म दलीय भागबण्डा मिलिसक्ने उनको भनाइ छ । प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ ।

प्रदेश नं २ मा मधेश केन्द्रित दलको पल्लामा भारी मत रहेकाले उनीहरुको बहुमतको सरकार बन्ने निश्चित छ । सो प्रदेशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन ठूलो जिम्मेवारी मधेश केन्द्रित दलको काँधमा छ ।

यद्यपि, आफ्ना न्यूनतम साझा कार्यक्रममा सहमत हुने अन्य राजनीतिक दललाई सरकारमा सहकार्य गर्न आवश्यक पहल गरिने नेताहरुले बताएका छन् ।

राजपाका महासचिव सुमनका अनुसार राष्ट्रिय निर्वाचनमा नेपाली काँग्रेससँग सहकार्य गर्ने निर्णय भएकाले उसँग सहकार्य हुनसक्ने छ । मधेशका मुद्दाप्रति वाम गठबन्धनले सहमत जनाएको खण्डमा उनीहरुसँग पनि सरकार गठनमा सहकार्य हुनेछ । रासस