वैशाख शुक्ल नवमी अर्थात् सीताजयन्ती सनातन हिन्दु धर्मशास्त्रका अनुसार यसै दिन जनकपुत्री सीताको जन्म भएको हो। सीता देवी लक्ष्मीकी अवतार मानिन्छिन्।
पुराणका अनुसार जनकपुरका महाराज जनक सन्तान प्राप्तिको कामनाले यज्ञभूमि तयार गर्ने क्रममा वैशाख शुक्ल पक्षको नवमी तिथि र पुष्य नक्षत्रको मध्याह्नमा एक बालिका भेटिएकी थिइन्। हलो जोत्ने क्रममा फेला परेकीले सीता नाम राखिएको बताइन्छ। जनककी छोरी भएकाले उनलाई जानकी पनि भनिन्छ। सीताको विवाह अयोध्याका राजा दशरथपुत्र रामचन्द्रसँग भयो, जो विष्णुका सातौं अवतार मानिन्छन्। जनकपुरकी चेली सीताको जीवन धेरै उतारचढावपूर्ण रहेको वाल्मीकिकृत रामायणमा उल्लेख छ।
राजा बन्ने समयमा रामलाई १४ वर्षको वनवास भएपछि उनीसँगै जानु, रावणको अपहरणमा पर्नु, भइसकेकेपछि पनि रामको आग्रहमा वनमा जानुपर्ने स्थिति आउनुजस्ता घटना उनको जीवनमा आइपरेको देखाइएको छ । धर्तीबाट प्रकट भएकी सीता अन्तिममा पनि धर्तीमै विलीन भएको बताइन्छ। सीताजयन्ती रावनवमीको एक महिनापछि पर्छ। सीताजयन्ती विशेषगरी जनकपुर क्षेत्रमा उल्लासपूर्ण रूपमा मनाइन्छ। सीता नेपालकी राष्ट्रिय विभूति पनि हुन्। सीताजयन्तीको अवसर पारेर सरकारले प्रदेश २ मा सार्वजनिक बिदा दिएको छ।