चितवन, १२ माघ । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ।
रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन्। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।
गत पुस १८ गतेदेखि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो। आज राति भने सडक नरोकिने आयोजनाका इञ्जिनियर शिव खनालले बताए।
गत वर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए। यसअघि परीक्षणको रुपमा रातिमा सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो।
रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडक खण्ड पार गर्न घण्टौँ लाग्ने गरेको छ जसका कारण दिनको काम पनि प्रभावित भएको छ।