श्रमको सम्मान र मर्यादा हुनुपर्छ:राष्ट्रपति भण्डारी

श्रमको सम्मान र मर्यादा हुनुपर्छ:राष्ट्रपति भण्डारी

काठमाडौँ, वैशाख १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा आएकाले नेपाली श्रमिकको अवस्थामा महतवपूर्ण सुधार आउने विश्वास व्यक्त गर्नुभएको छ ।

नयाँ श्रम ऐन लागू भएपछि नेपाली श्रमिकहरू विदेश पलायन हुने दरमा पनि कमी आउने अपेक्षा गर्दै उहाँले सुदृढ अर्थतन्त्रको मेरुदण्ड र समाजवाद उन्मुख अर्थव्यवस्थाको आधारस्तम्भ श्रमिक भएकाले सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्छ भन्नुभएको छ । राष्ट्रपतिले भन्नुभएको छ, “सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्प सार्थक तुल्याउन श्रम क्षेत्रको सुधारका दिशामा सरोकारवाला पक्षहरू केन्द्रित हुनेमा म विश्वस्त छु । यस अवसरमा सङ्घीयता कार्यान्वयनमा श्रमिकले खेल्दै आएको अहम् भूमिकाका लागि हार्दिक धन्यवाद दिन चाहन्छु । ”
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजीवी वर्गको आर्थिक सामाजिक जीवनमा सकारात्मक परिवर्तन नआएसम्म समृद्धि सम्भव नभएको बताउनुभएको छ । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानका लागि सबै श्रमजीवी वर्ग समृद्ध, सुखी र खुुसी हुनुपर्नेमा जोड दिनुभएको छ ।

मजदुरको हकहितका लागि भएको संवैधानिक व्यवस्थाको कार्यान्वयन गरिए मजदुरका धेरै अधिकार प्राप्त हुने उल्लेख गर्दैै उहाँले नेपालको संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको प्रस्ट पार्नुभयो । श्रमजीवी वर्गको उत्थानका लागि सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गरिनुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले देशको मुख्य सामाजिक आर्थिक शक्तिका रूपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउन र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।