राष्ट्रियसभामा एक तिहाई निर्विरोध, ३८ का लागि चुनाव

  • 4
    Shares
राष्ट्रियसभामा एक तिहाई निर्विरोध, ३८ का लागि चुनाव

काठमाडौं – राष्ट्रियसभामा निर्वाचनद्धारा पूर्ति हुने कुल सदस्य संख्याका एक तिहाई निर्विरोध ‘विजयी’ भएका छन्। पहिलो पटक हुन गइरहेको राष्ट्रियसभामा ५६ जना ७ प्रदेशबाट निर्वाचित हुने छन् भने ३ जनालाई मन्त्रीरिषदको सिफारिसबाट राष्ट्रपतिले मनोनित गर्ने छन्।

विभिन्‍न पार्टीले संविधानले निर्धारित गरे अनुसारका समूह अन्तर्गत तोकेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेको पहिलो दिन नै १८ जना निर्विरोध ‘विजयी’ देखिएपछि बाँकी ४० का लागि माघ २४ गते निर्वाचन हुने छ।बुधबार सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा जम्मा ८३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

सबैभन्दा बढी महिला सूमहका १२ जना उम्मेदवारहरु निर्विरोध ‘विजयी’ भएका छन्।त्यस्तै खुल्लाबाट ३, दलितबाट २ र अल्पसंख्यक समूहबाट १ जना निर्विरोध भएका छन्।

१,२, ५ र ७ प्रदेशका जम्मा ३२ मध्ये १८ मा निर्विरोध हुँदा ती प्रदेशका बाँकी १४ स्थानका लागि मात्र निर्वाचन हुने छ। प्रदेश नम्बर ३,४ र ६ मा सबै समूहका लागि २४ स्थानमा निर्वाचन हुने छ।

प्रदेश ७ मा सबैभन्दा बढी ३ खुल्लातर्फबाट एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्रीप्रसाद पाण्डे निर्विरोध भएका छन्।

महिलामा एमालेकी इन्दू कडेरिया विष्ट र माओवादीका कमला ओली, कांग्रेसकी तारादेवी भट्ट निर्विरोध भएका छन्। प्रदेश ७ मा दलित र अल्पसंख्यक वा अपाङगता समूहका २ स्थानमा मात्र निर्वाचन हुन बाँकी छ।

प्रदेश २ मा ५ सदस्य निर्विरोध भएका छन् । ३ महिलामा नेकपा माओवादी केन्द्रका शशीकला दाहाल, नेपाली कांग्रेसका मुक्ताकुमारी यादव र संघीय समाजवादी फोरमका प्रमिला यादव छन् भने फोरमका रामप्रीत पासवान दलित र अल्पसंख्यक समूहबाट राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष वृषेशचन्द्रलाल निर्विरोध भएका छन्।

त्यस्तै प्रदेश १ बाट ३ महिलामा एमालेका नैनकला ओझा, माओवादीकेन्द्रका विना पोखरेल र नेपाली कांग्रेसका सरीता प्रसाई निर्विरोध भएका छन्।

सूमहबाट नेपाली कांग्रेसका विन विश्‍वकर्मा निर्विरोध भएका छन् भने प्रदेश ५ बाट ३ महिला नेकपा एमालेका कोमल वली, माओवादी केन्द्रका मिना बुढा र नेपाली कांग्रेसकी अनिता देवकोटा औपचारिक रुपमा विजयी घोषित हुने प्रतिक्षामा छन्।