राष्ट्रियसभा निर्वाचनलाई ४ प्रदेशबाट कांग्रेसका उमेदवारको टुंगो (सूचीसहित)

राष्ट्रियसभा निर्वाचनलाई ४ प्रदेशबाट कांग्रेसका उमेदवारको टुंगो (सूचीसहित)

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले आशन्न राष्ट्रियसभा निर्वाचनका लागि चार प्रदेशबाट उमेदवारहरुको टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले ४, ५, ६ र ७ नम्बर प्रदेशबाट राष्ट्रियसभाका उमेदवारहरुको टुंगो लगाएको हो ।
बैठकले ४ नम्बर प्रदेशबाट खुलातर्फ सुरेन्द्रराज पाण्डेय, महिलातर्फ बृन्दा रानामगर, दलिततर्फ जीतबहादुर नेपाली र अपाङ्ग/अल्पसंख्यकतर्फ प्रकाश पन्तको नाम टुंगो लगाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले प्रदेश नम्बर ५ बाट दुर्गाप्रसाद उपाध्याय (खुला), अनिता देवकोटा (महिला), मैकुलाल बाल्मिकी (दलित) र लुटबहादुर खत्री (अपाङ्ग/अल्पसंख्यक) लाई राष्ट्रियसभाका लागि उमेदवार बनाउने निर्णय गरेको छ ।

प्रवक्ता शर्माका अनुसार बैठकले ६ नम्बर प्रदेशबाट खुलातर्फ बिष्णुबहादुर शाही, महिलातर्फ सूर्यदेवी मल्ल, दलिततर्फ सीताराम विक र अपाङ्ग/अल्पसंख्यकतर्फ गोपालप्रसाद शर्माको नाममा पनि सहमति जुटाएको छ ।

यसअघि कांग्रेसले सोमबार ७ नम्बर प्रदेशबाट बद्रीप्रसाद पाण्डेय (खुला), तारादेवी भट्ट (महिला), शेरीराम पार्की (दलित) र छत्रराज जोशी (अपाङ्ग/अल्पसंख्यक) लाई राष्ट्रियसभाका लागि उमेदवार बनाउने निर्णय गरेको थियो ।

अन्य प्रदेशबाट राष्ट्रियसभामा उमेदवार बन्ने आकांक्षीहरुको नाम टुंग्याउन बालुवाटारमा अहिलेपनि छलफल चलिरहेको कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले जानकारी दिएका छन् ।
निर्वाचन आयोगले माघ १५ गतेका लागि निर्धारण गरेको राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गतेभित्रै उमेदवारी टुंगो लगाइसक्नु पर्ने कार्य तालिका निर्धारण गरेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि माघ २४ गते ५६ सिटका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा प्रत्येक प्रदेशबाट ८ जना राष्ट्रिय सभामा निर्वाचित हुनेछन् ।