३३ महिनामा पनि नसकिएको मुग्लिन–नारायणगढ सडक विस्तार (नालीबेली सहित हेर्नुहाेस )

३३ महिनामा पनि नसकिएको मुग्लिन–नारायणगढ सडक विस्तार (नालीबेली सहित हेर्नुहाेस )

काठमाडौं । उपत्यका प्रवेशको लाइफलाइन मुग्लिन नारायणगढ सडक विस्तारको काम निर्धारित समयमा पूरा नभएपछि चौथो पटक समय थप्नुपर्ने भएको छ। यो सडक विस्तारको काम हाल ७१ प्रतिशत मात्रै पूरा भएकाले अझै एक पटक सयम थप्नुपर्ने भएको हो। आगामी फेब्रुअरीमा चौथो पटक समय थपेर बाँकी काम गराउने तयारी सडक विभागले गरिरहेको छ।

साढे दुई वर्षभित्रै विस्तारको काम पूरा गर्न ३३ महिना अगाडि सम्झौता भएको थियो। सडक निर्माणको ठेक्का लागेका दुई महिनामै (२०७२ वैशाखमा) गएको भूकम्प, सोही वर्षमा भएको नाकाबन्दी, निर्माण सामग्रीको अभाव, अन्तरनिकाय समन्वय अभाव, प्रतिकूल मौसमलगायत कारण समयमा काम पूरा हुन सकेको छैन। तीन पटकसम्म समय थप भइसकेको छ। समयमानै काम सम्पन्न हुन नसकेको र तोकिएको समयमा सन्तोषजनक काम नभइ दोस्रो पटक समय थप हुँदा दुई वटा ठेकेदारले ७५ लाख हर्जाना तिर्नुपरेको थियो।

तीन वटा ठेकेदार कम्पनीमार्फत विभिन्न तीन खण्डमा सडक विस्तारको काम भइरहको छ। यो आयोजनाको आगामी फेब्रुअरी २० बाट सम्झौता अवधि सकिँदै छ। तीन पटकको सम्झौता सकिएका कारण सडक विभागले अगामी वैशाखभित्र काम सक्ने गरी चौथोपटक म्याद थप गर्ने तयारी गरिरहेको मुग्लिन नारायणगढ सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए।

दुई वर्षको आयोजना भए पनि समयमा नै काम हुन सकेको र मनासिव कारण भएकाले तीन पटक समय थप भइसकेको छ। सडक विस्तार पूरा गर्न अब चौथोपटक समय थप गर्नुको विकल्प नभएको उनले बताए। थपिएको समय कम्तीमा दुई महिनाको हुनेछ। दुईदेखि ६ महिना समय थप गरेर आगामी वैशाखपभत्रै यो सडक विस्तार पूरा गराउने अपेच्छा सडक विभागको छ।

यो सडक विस्तारको काम हाल ७१ प्रतिशत मात्रै पूरा भएकाले अझै एक पटक सयम थप्नुपर्ने भएको हो।

यो सडक विस्तार गर्न पहिलोपटक १५ महिनादेखि साढे दुई वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समय सकिएपछि सडक विभागले ८–८ महिना गरेर तीन पटक समय थप भइसकेको छ।

७१ प्रतिशत प्रगति
विश्व बैंकको दुई अर्ब ९० करोड सहुलियत ऋणमा दुई लेनबाट चार लेनमा विस्तार भइरहेको यो सडक सम्पन्न गर्नुपर्ने तेस्रो पटकको समय सकिनै लाग्दा ७१ दशमलव पाँच प्रतिशत प्रगति देखिएको छ। यतिबेलासम्म तीन वटै खण्डमा भएको यो प्रगतिलाई अगामी वैशाखसम्ममा सत्प्रतिशत पुर्‍याइने आयोजनाले जानकारी दिएको छ।

यो सडक विस्तारमा हालसम्म १४ दशमलव पाँच किमि सडक कालोपत्रे भएको छ। विभिन्न तीन खण्डमा भएको यो सडक कुनैमा एक र कुनैमा दुई तहसम्म कालोपत्रे भएको छ। तीन तहसम्म कालोपत्रे हुने यो सडक वैशाखसम्ममा पूर्ण रूपमा सम्पन्न भइसक्ने जानकारी आयोजनाले दिएको छ। कुल ३६ किमिको यो सडकको ३३ दशमलव दुई किमि मात्रै ठेक्का लागेको छ।

१३ गतेदेखि दिउँसो गाडी बन्द
यही माघ १३ गते शनिबारदेखि यो सडक बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बन्द हुने भएको छ। यो सडक विस्तारको निम्ति भित्तो कटिङ गर्नुपर्ने भएकाले सवारी रोकेरै काम गर्न लागिएको हो। यसअघि राति सवारी रोकेर काम गर्ने गरिएको थियो। रातको समयमा प्रभावकारी काम गर्न नसकिएकोले अब दिउँसै सवारी रोकेर काम गर्नुपर्ने भएको आयोजनाका सूचना अधिकारी खनालले जानकारी दिए।

यो सडक विस्तारमा अझै आठ सय मिटर बाँकी छ। १६ किलो भन्ने स्थानमा तीन सय मिटर, घुमाउनेमा दुई सय मिटर र चेपाङ डाँडामा तीन सय मिटर कटिङ गर्ने बाँकी छ। सडक कालोपत्रे गर्न पनि सवारी रोकेरै गर्दा छिटो र गुणस्तरीय हुने भएकोले पनि बाध्य भएर दिउँसो बन्द गर्नुपरेको आयोजनाले बताएको छ।

सडक विस्तारको उद्देश्य
काठमाडौं सहरलाई मुग्लिन नारायणघाट हुँदै वीरगन्जसम्म पुग्ने यो सडकलाई राष्ट्रिय राजमार्ग तथा व्यापारिक मार्गको रूपमा हेरिन्छ। यसको सुरुआत प्रारम्भमा कृषि सडकको रूपमा रहेको थियो। विस्तारै अत्यावश्यक इन्धन, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, लत्ताकपडा, तेस्रो मुलुकबाट आउने विभिन्न प्रकारका सामान भित्रयाउने सडकका रूपमा यसलाई प्रयोग हुन थाल्यो।

सहरी जनसंख्याको चापले यो बाटो भएर ओहोरदोहोर गर्नुपर्ने तथा दैनिक जीवनयापनको उपयुक्त मार्ग बन्दै गयो। काठमाडौंसँगको लाइफलाइन भएकोले सरकारले यसलाई विस्तार गरेर चार लेनको बनाउन थालेको हो। यो सडक निर्माण पश्चात ३६ किलोमिटरको यो सडक पार गर्न जम्मा ३५ मिनेट लाग्ने सडक विभागको दाबी छ।

तीन खण्डमा तीनवटै ठेकेदार
यो सडक विस्तार गर्न सडक विभागले तीन वटा ठेकेदारमार्फत काम गरिरहेका छन्। ३६ किमिको यो सडकमध्ये आँपटारीदेखि नारायगढ बसपार्क जोड्ने तीन किमि सडक विभागले नै विस्तार गर्दै छ। ठेक्का लागेको ३३ किमिमध्ये एउटाले १२ किमिको जिम्मा पाएको छ भने दुईवटा कम्पनीले साढे १० किमिका दरले २१ किमिको जिम्मा पाएका छन्।

सडक विस्तारमा रहेका तीन वटै भारतीय कम्पनीले नेपाली कम्पनीसँगको साझेदारमा काम गरिरहेका छन्। यीमध्ये आँपटारीदेखि दासढुंगासम्मको सडक बीएलए एससीसी तथा नेपाली कम्पनी श्रेष्ठ निर्माण कम्पनीले गरिरहेको छ। दासढुंगादेखि सिमलतालसम्म उडहिल तथा नेपाली लामा निर्माण कम्पनीले गरिरहेको छ। सिमलटारदेखि मुग्लिनसम्मको काम भने सुप्रिम तथा नेपाली रौताहा निर्माण कम्पनीले गरिरहेको छ। अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएकाे छ ।

विकल्पमा कान्ति लोकपथ
सडकको उपयुक्त विकल्प कान्ति लोकपथ नै हो। यो मार्ग भएर यात्रा गर्दा काठमाडौंबाट हेटौंडासम्म जम्मा ७९ किलोमिटर दूरी छ। हालको मुग्लिन नारायणगढ सडक प्रयोग गर्दा यही दूरी पार गर्न काठमाडौंबाट हेटौंडासम्म २२३ किलोमिटर छ। कान्ति लोकपथबलाई तत्कालै मुग्लिन—नारायगढ सडकको विकल्पका रूपमा यात्रुबाहक सवारी आवतजावतको निम्ति प्रयोग गर्न मिल्ने अवस्थामा पुगेको सडक विभागले जानकारी दिएको छ।