काठमाडौँ, ४ वैशाख – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यातायात समितिलाई कम्पनीमा लैजान गर्नुपर्ने सहजीकरणका लागि यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।
सरकारले तीन महीनाभित्र देशभरका सबै समितिलाई कम्पनीमा जान निर्देशन दिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक सहजीकरणका लागि महानिर्देशक दाहालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार, गृह मन्त्रालयका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव वसन्त भण्डारी रहनुभएको छ ।
समितिले यातायात सेवाप्रदायक कम्पनी दर्ता भई सञ्चालनमा ल्याउँदा गर्नुपर्ने सुविधा र समन्वयका विषयमा अध्ययन गरी १५ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्नेछ । उक्त समितिको पहिलो बैठक आज यातायात व्यवस्था विभागमा बसेको थियो । विभागका महानिर्देशक दाहालको संयोजकत्वमा बसेको बैठकले ऐन, कानूनलाई हेरेर सहज ढङ्गले समितिअन्तर्गतका सवारीसाधनलाई कम्पनीमा लैजानेबारेमा प्रारम्भिक छलफल भएको समितिका सदस्य सिटौलाले जानकारी दिनुभयो ।(रासस)